Logo

मनाङ नासोवासीलाई राखेप सदस्य गुरुङकै नेतृत्वमा उद्धार र राहत वितरण

पोखरा –मनाङको नासो गाउँपालिका–१ स्थित नासो ताल क्षेत्रका बाढी प्रभावितलाई उद्धार र राहात वितरण गरिएको छ । शुक्रबार उक्त क्षेत्रमा व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर गरी केही राहात सामग्रीसहित त्यहाँको वस्तुस्थिति बुझ्न पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले पुनः सोमबार २ फ्लाइट हेलिकप्टरमा नासो बासीका लागि राहात उपलब्ध गराएका छन् ।
गुरुङको नेतृत्वमा पोखरामा संकलन भएको करिब १ लाख ५० हजार मूल्य बराबरको खाद्य सामान एवं त्रिपाल, म्याट लगायतको वस्तु सोमबार सिम्रिक एयरको हेलिकोप्टरमा चार्टर गरी राहतसहित ५ जनाको उद्धारसमेत गरिएको राखेप सदस्य गुरुङले बताए । जितमाया गुरुङ, राम घले, अनिसा घले सुमिन घले र तीलबहादुर गुरुङलाई नासोबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जनाए । २ फ्लाइटको हेलिकोप्टर चार्टरको आर्थिक व्ययभार राखेप सदस्य गुरुङ, मनकामना केवलकार दर्शन प्रालिका सञ्चालक राजबाबु श्रेष्ठ, सिम्रिक एयरका संचालक रामेश्वर थापा लगायतले व्यवस्थापन गरेका हुन् ।
पूर्वशसस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) स्वा.सहवीर थापाको परिवारबाट धर्मपत्नी कल्पना थापा, छोराहरु आसिस थापा, अविसेक थापाबाट ५० हाजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध भएको गुरुङले जनाए । त्यसै गरी पोखराका युवा व्यवसायी दीपक बरालले आफ्ना बाबु सोमनाथ बरालको स्मृतिमा ५० हजार मूल्य बराबरको खाद्य सामग्री उपलब्ध गराएका छन् भने पोखरा लालीगुराँस निवासी भरत बरालले २५ हजार मुल्य बराबरको खाद्य सामाग्री, तेजबहादुर गुरुङबाट १० हजार उपलब्ध गराएको सदस्य गुरुङले जनाए ।
यसैबीच, नासोतालमा जिल्ला प्रशासन कार्यालय मनाङले केही व्यक्तिलाई उक्त स्थानबाट उद्धार गरेको छ भने केही खाद्य सामग्रीसमेत वितरण गरेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन् । मनाङका धेरै ठाँउमा बाढीको प्रभाव परेकाले व्यबस्थापन गर्न कठिन भएको उनले बताइन्। नासोमा ६२ घर धुरी रहेका छन जस मध्य अधिकांश घर बाढीको डुबानमा परेका हुन् । नासो ताल क्षेत्रमा करिब ३ सय जना व्यक्तिहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्