Logo

सरुवा रोग अस्पतालमा कोरोनाका बिरामी भरिभराउ सरकारी तवरबाट आवश्यक तयारी कमी भएको पोखरेलीको गुनासो दीननाथ बराल

पोखरामा पनि कोरोना संक्रमण दर बढ्दो


पोखरामा पनि दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै गए पनि सरकारी स्तरबाट आवश्यक पूर्वतयारीको कमी भएको पोखरेलीले गुनासो रहेको छ । कोरोना संक्रमणको प्रभाव एक वर्षभन्दा पहिलेदेखि देखा पर्दै आउने क्रममा हाल दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा सरकारी स्तरबाट आवश्यक तयारी निकै कम भएको पोखरेलीले गुनासो गरेका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा हाल साविक शिशुवामा रहेको सरुवा रोग अस्पताल (लेखनाथ सामुदायिक अस्पताल) र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा कोरोनाका बिरामीको उपचार भई रहेको छ यद्यपि आवश्यक तयारी नगर्दा कोरोनाका सिमित बिरामीहरूका लागि मात्र उपचार सरकारीमा भए पनि अन्ततः अन्य बिरामीहरू निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य हुने भएका छन् ।
सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनले हाल आफूहरूको अस्पतालमा ५० जना कोरोनाका बिरामीहरूको उपचार भइरहेको बताए । अस्पतालमा हाल कोरोनाका बिरामीले भरिभराउ भएको उनले जनाए । उनका अनुसार हाल उनीहरूमध्ये करिब ५० प्रतिशतजसो गम्भीर प्रकृतिका बिरामीहरूको उपचारसमेत भएको छ । ५० बेडको क्षमता भएको सरुवा रोग अस्पतालमा हाल आवश्यक मात्रमा कर्मचारी नहुँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीलाई निकै कठिन भएको प्रमुख डा. गौचनले बताए । आफुहरूले कर्मचारीको दरबन्दी माग गर्दै आएको उनले जनाए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोनाका बिरामीको उपचार हुन थालेको छ । प्रतिष्ठानमा हाल ओपीडी सेवासहित कोरोनाका बिरामीहरूको समेत उपचार हुन थालेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । सरकारले ओपीडी सेवा बन्द गरेर ४० प्रतिशत कोरोनाका बिरामीको लागि सेवा दिन दिएको निर्देशनअनुसार हाल आफूहरूले थप ३ सय जना कर्मचारीको व्यवस्थापन गर्नका लागि ओपीडी सेवा सञ्चालन गरेको उनले जनाए ।
निजी अस्पतालहरूको छाता संस्था अफिन गण्डकी प्रदेशका अध्यक्ष अशोक पालिखेले हाल कोरोना डेडिकेट अस्पतालले कोरोनाका बिरामीको लागि उपचार भइरहेको बताए । कोरोनाको संक्रमण दर बढ्ने आशंकामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, डिआईजी, कास्कीका प्रमुख जिल्ला अधिकारी लगायतलाई कोरोनाको संक्रमण दर समयमै नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग, प्रदेशको बोर्डर राम्दी र मुग्लीनमा चेकिङ गर्न आग्रह गर्दै आए पनि हाल त्यसलाई ख्याल नगर्दा कोरोना भयाभह हुने अवस्था आउन लागेको पालिखेले बताए । उनका अनुसार फागुपूर्णिमा पर्वपछि तराई र भारतीय मूलका नागरिकले बिना मास्क पोखरा क्षेत्रमा छ्याप्पछ्याप्ती हिँड्डुल गर्नाले कोरोना संक्रमण बढेको हो । कोरोना खोप र पीसीआर परिक्षण बढाउनुपर्ने अध्यक्ष पालिखेको माग रहेको छ । उनले भने, “हामीले धेरै पहिला नै कोरोना संक्रमण बढ्ला भनेर सर्तक रहन आग्रह गर्दै आयौं त्यसको सरकारी स्तरबाट कुनै वास्ता गरिएन त्यसको फल हाल कोरोना संक्रमण दैनिक १ सयभन्दा बढी देखा पर्न थालेको छ पोखरामा मात्र । ”
पोखरामा कोरोना संक्रमणको संख्या दैनिक जसो एक सय जनाभन्दा बढीमा देखा परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीमा कोरोनाबाट एकै दिनमा पछिल्लो समयमा एक÷दुई जनाको समेत मृत्यु हुन थालेको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारकै क्रममा मृत्यु हुन थालेको निर्देशनालयले जनाएको छ ।
कास्कीमा कोरोनाबाट बच्न र बचाउन कास्की प्रशासनले र्वैशाख १५ देखि १ साता निषेधाज्ञाको घोषणा गरेको छ । कास्कीमा जोर गते जोर नम्बर प्लेट नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन संचालनको अनुगमन प्रहरीले गरेका छन् । गण्डकी प्रदेश ट्राफिक कार्यालय गौगनगौडाले निषेधाज्ञाको दुई दिनको आधारमा १० हजार १ सय ७२ जनाको सवारी साधन चेकिङ गरेको छ । ८ हजार ६ सय २९ जनालाई मास्क वितरण गरिएको कार्यालयले जनाएको छ । बिना मास्क हिँडडुल गरेका सम्झाउँदा पनि हटेरी गर्ने ३१ जनालाई जरिवानासहित कारबाही गरिएको गण्डकी प्रदेश ट्राफिक कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनोजकुमार शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्