Logo

फोहोर मासु उपभोग गर्न बाध्य

हुम्ला-हुम्लामा मासु बिक्रेताको असावधानीका कारण उपभोक्ता फोहर र गुणस्तरहीन मासु उपभोग गर्न बाध्य भएका छन् । मासु बिक्रेताले मासुको असुरक्षित भण्डारण र कुहिएको मासु बेच्दा उपभोक्ता असुरक्षित भएका हुन् । सिमकोट गाउँपालिकाभित्रका मासु पसलमा सरसफाइ र मासुको वितरणमा देखिएको असावधानीका कारण उपभोक्ताको स्वास्थ्यमा खराबी हुने देखिएको छ ।
सिमकोट बजारमा रहेका खसी तथा कुखुराको मासु बिक्रेताले दुई दिनदेखि राखेको बासी मासु बिक्री गरेको पाइएको छ । हवाईजहाजमार्फत् नेपालगन्ज र सुर्खेतबाट अघिल्लो दिन भित्र्या इएको मासु उपभोक्ताले दुई दिनपछि खरिद गर्न बाध्य छन् । स्थानीयस्तरमा कुखुरापालन नहुने भएपछि नेपालगन्ज र सुर्खेतबाट आयात गरिँदै आएको छ ।
सिमकोट गाउँपालिकाको अगुवाईमा सिमकोट बजारभित्रका मासु पसलमा स्थानीय प्रशासनले अनुगमन गर्दा कुहिएको, गन्हाएको मासु बिक्री हुने गरेको तथ्य बाहिरिएको हो । पत्रकार, सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ, गाउँपालिकाको पशु स्वास्थ्य एकाइको सक्रियतामा अनुगमन भएको हो । अधिकांश पसलमा मासु बिक्री गर्ने इजाजतपत्र देखिने गरी नटाँसिएको, मासुको मूल्य सूची नभएको, दर्ता प्रमाणपत्र नवीकरण नभएको जस्ता समस्या देखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले मासु बिक्री गर्ने स्थान सफा नहुनु र भण्डारण स्थल फोहोर देखिनुले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको बताउनुभयो । अनुगमन टोलीले मासुको गुणस्तरमा ध्यान दिन निर्देशन दिएको छ । हुम्लामा हरेक दिन २५ सय किलोग्राम मासु भित्रिने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्