क्षेत्रीय साझेदारीमा बिमस्टेक मञ्चको उपयोग «

क्षेत्रीय साझेदारीमा बिमस्टेक मञ्चको उपयोग

बिमस्टेक आफै अघि बढाउन लागि अघि सारेका सम्पर्क सञ्जाल, व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणजस्ता विषयमा पनि नेपालले अधिकतम लाभका अवसर खोज्नुपर्छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भोलिदेखि राजधानीमा सुरु हुँदैछ । शिखर सम्मेलनपूर्व सचिवस्तरीय बैठकहरू सुरु भइसकेका छन् । एक्काइस वर्षअघि सुरु भएको यो क्षेत्रीय संगठनले जसरी बंगालको खाडी र आसपासका मुलुकहरूमा आर्थिक साझेदारी विस्तार गरी बलियो क्षेत्रीय साझेदारी स्थापित गर्छ भन्ने अपेक्षा गरिएको थियो, त्यस दिशामा अझै सबल र सफल हुन सकेको भने छैन । संयुक्त राष्ट्र संघको बडापत्रको आठौं भागको धारा ५२ र ५३ अन्तर्गत नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बिमस्टेकजस्ता क्षेत्रीय सञ्जालहरूको सदस्यता लिन र तिनीहरूसँग समान रूपमा सहकार्य अघि बढाउँदै आएको छ । ३३ वर्षअघि स्थापित सार्कले दक्षिण एसियामा सरकारस्तरको सम्बन्ध प्रगाढ तुल्याउन मद्दत पुराएको मात्र छैन, सँगसँगै जनस्तरको सम्बन्ध बलियो बनाउनमा पनि भूमिका खेल्दै आएको छ । विभिन्न परिस्थितिबीच सार्कको गतिविधिमा केही सुस्तता आएको देखिए पनि सार्कका विभिन्न संयन्त्रमार्फत चालिएका थुप्रै गतिविधिका नतिजा दक्षिण एसियामा देखिएका पनि छन् । सार्कको बडापत्रअनुसार यो तीन दशकभन्दा लामो अवधिमा क्षेत्रीय सहकार्यका लागि १ हजारभन्दा बढी प्रतिबद्धता व्यक्त भइसकेका छन्, जसमध्ये प्रतिबद्धता केवल कागजी घोषणामा सीमित भएका छन् । सार्कमा अघि बढाइएको आर्थिक साझेदारी, त्यसमा पनि स्वतन्त्र व्यापार क्षेत्रको अवधारणालाई मूर्त रूप दिनका लागि हालसम्म भए गरेका प्रयासका नतिजा सन्तोषजनक नभए पनि क्षेत्रका साना सदस्य मुलुकहरूले लाभ लिनसक्ने आधार भने बनेको छ ।
आर्थिक तथा प्राविधिक साझेदारीकै मुख्य एजेन्डासहित स्थापित बिमस्टेक पनि नेपालका लागि लाभ उठाउन सक्ने महŒवपूर्ण मञ्च सावित हुन सक्छ, तर यसका लागि पहिला त बिमस्टेक नै बलियो बन्नुपर्यो र त्यसपछि नेपाल सरकारले बलियो प्रस्तुति देखाउन सक्नुपर्यो । जसरी काठमाडौंमा स्थापित सार्क सचिवालयले भूमिका खेल्न सकेको छ, त्यसरी ढाकामा स्थापना गरिएको बिमस्टेकको सचिवालय नै प्रभावकारी बन्न सकेको छैन । नेतृत्व तहले घोषणा गरेका विषय वस्तु वा प्रतिबद्धताहरूको कार्यान्वयनका लागि निरन्तर पहलकदमी गर्ने कार्य सचिवालयको हुन्छ, त्यसैले पनि यस्ता क्षेत्रीय वा बहुपक्षीय निकायहरूका सचिवालय बलियो हुनुपर्ने अपेक्षा गरिन्छ । सचिवालयका खर्च, यसका प्रमुख वा सचिवको व्यवस्थापनलगायतका विषयमा भर्खर काठमाडौंमा जारी परराष्ट्र सचिवस्तरीय बैठकले कार्यविधि बनाएर शिखर सम्मेलनले पारित गर्ने कार्यक्रम छ ।
यदि बिमस्टेक प्रभावकारी बन्न सक्ने हो भने यसले दक्षिण एसिया र आशियानबीच पुलको काम गर्न सक्छ, किनकि यसका सात सदस्यमध्ये दुई आशियानकै सदस्य छन्, जसमध्ये थाइल्यान्ड बिमस्टेकका जन्मदातामध्ये एक हो । बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रको जुन अवधारण आएको छ, त्यसले नेपालको पहुँच दक्षिण एसियाको पेरिफेरिबाट उठेर आशियानसम्म पुराउँछ । यो मञ्चको प्रयोगबाट नेपालले ‘बुद्धिस्ट सर्किट’को अवधारणालाई उठाएर देशमा लाखौं बुद्धमार्गीहरूलाई भिœयाउन सक्छ । थाइल्यान्ड र पहिला बर्मा भनिने म्यानमार लाखौं बुद्धमार्गीहरूको बसोबास स्थल हो, अहिले पनि नेपाल भ्रमण गर्ने पर्यटकहरूमध्ये थाई पर्यटकहरूको संख्या उल्लेख्य हुने गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागेको अवस्थामा देशलाई मार्केटिङ गराउनका लागि पनि बिमस्टेकजस्ता मञ्चहरू उपयोगी हुन सक्छन् । बिमस्टेक आफै अघि बढाउन लागि अघि सारेका सम्पर्क सञ्जाल, व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणजस्ता विषयमा पनि नेपालले अधिकतम लाभका अवसर खोज्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्