नयाँ लघुवित्त वित्तीय संस्थाको रूपमा ‘दिव्य’ को आगमन «
Logo

नयाँ लघुवित्त वित्तीय संस्थाको रूपमा ‘दिव्य’ को आगमन

सरल लघुबैंकिङ मूल नारा लिएर नमोबुद्व नपा–२ भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि श्रीचिन्तामणि शिवाकोटीले २०७५ साउन २३ गते बुधबार आयोजित एक समारोहकाबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेन्चुरी कर्मसियल बैंकका अध्यक्ष राजेश श्रेष्ठ, नमोबुद्घ उद्योग वाणिज्य संघका अध्यक्ष वशुनारायण श्रेष्ठ लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टैनै नेपालको सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्थाका रूपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले स्वागत मन्तव्य राखेका थिए भने उद्घाटन कार्यक्रम सञ्चालन संस्थाका कम्पनी सचिव पुरुषोत्तमप्रसाद घिमिरेले गरे । संस्थाका अध्यक्ष जीवन भट्टराईको सभापतित्वम सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा उनले विपन्नवर्गमा जानेकर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरूमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरूलाई कार्य गर्न अलिक सहज हुने कुरा राख्दै समारोहमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ कात्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७५ असार १९ गते वित्तीय कारोबार गर्ने इजाजत पाएको यस वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड, जारी पुँजी ११ करोड र हालको चुक्तापुँजी ७ करोड ७० लाख छ । चुक्तापुँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक र कैलाश विकास बैंकको ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक सेयर छ ।

 

प्रतिक्रिया दिनुहोस्