टर्कीले अमेरिकी इलेक्ट्रोनिक्स सामान बहिष्कार गर्ने «

टर्कीले अमेरिकी इलेक्ट्रोनिक्स सामान बहिष्कार गर्ने

अंकारा-वासिङटनले अंकारा बिरुद्ध प्रतिबन्ध लगाएपछि आफ्नो मुलुकले पनि अमेरिकी विद्युतीय उत्पादन बहिष्कार गर्ने टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बताएका छन् ।
“यदी अमेरिकासँग आईफोन छ भने अर्कातर्फ सामसङ पनि रहेको छ,” एप्पल र उसको दक्षिण कोरियाली प्रतिस्पर्धीलाई उल्लेख गर्दै एर्दोगानले बताए ।
टर्कीले अमेरिकी पादरीलाई सुपुदर्गी गर्नका लागि अस्वीकार गरेपछि अमेरिकाले गत साता टर्कीको सामग्रीमा लगाइने भन्सारलाई दोब्बर पारेको थियो ।
यसका कारण कमजोर अवस्थामा पुगेको टर्कीको मुद्रा लिरा २० प्रतिशतले अवमूल्यन भएको थियो ।
राष्ट्रपति एर्दोगानले. टर्कीले अर्थतन्त्रलाई स्थिर पार्नका लागि नीति ल्याउने र विदेशी मुद्रामा लगानी गरेर आफ्नो अर्थतन्त्रलाई सत्रुको हातमा नसुम्पने बताएका छन् ।
रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रतिबन्धलाई अवैधानिक कदम भएको बताएका छन् । हाल उनी अंकाराको भ्रमणमा रहदै आएका छन् । उनले अमेरिकामाथि विश्वव्यापी व्यापारमा पक्षपातपूर्ण प्रतिस्पर्धी लाभ लिन खोजेको आरोप लगाएका छन् ।
जनवरीदेखि हालसम्मको अवधिमा अमेरिकी डलरको विनिमयमा टर्कीको लिरामा ३४ प्रतिशतको गिरावट आइसकेको छ । यसले दैनिक उपभोग्य सामग्रीको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
एर्दोगानले शुक्रबार टर्कीका नागरिकलाई लिराका लागि विदेशी मुद्रा र सुन बिक्री गर्नका लागि आग्रह गरेका थिए । यो आर्थिक युद्धको समय भएको पनि उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्