२२ अर्ब पुँजीगत लगानी बढाउँदै टेलिकम

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले चालू आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब पुँजीगत लगानी बढाउने भएको छ । कम्पनीले जिएसएम मोबाइल, फाइवर टु दी होम, ७७ वटै जिल्लामा वाईफाई सेवाको पूर्वाधार विस्तार तथा सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको लगायतका परियोजनामा यो लगानी गर्ने भएको हो । दूरसञ्चार क्षेत्रमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले फोरजी/एलटीई सेवा कम्पनीको उच्च प्राथमिकतामा छ ।
कम्पनीले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्यूनतम ५ सय १२ केबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गर्ने जनाएको छ । ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्रहरूमा वाईफाई सेवा सञ्चालनमा ल्याइने तथा एकद्वार ग्राहक सेवा प्रणालीबाट ग्राहकहरूको गुनासाहरू सम्बोधन गर्ने योजना छन् । चालू वर्षमा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुराउने तथा डाटा सेवाको घनत्व पनि वृद्धि गर्दै ४५ प्रतिशत पुराउने योजना कम्पनीको छ । यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको सञ्चालन आय ४४.२५ अर्ब पुराउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आम्दानी २.१९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको नाफा करिब १५ अर्ब ६६ करोड ७५ लाख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले वृद्धि भएको छ, जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा १.९६ ले रुपैयाँले वृद्धि भई प्रति सेयर आम्दानी १०४.४५ पुगेको छ ।
चालू वर्षमा कम्पनीले जीएसएम मोवाइल सेवामा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ । सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्न बोलपत्र आह्वान भइसकेको छ र यसै आर्थिक वर्षभित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा सञ्चालनमा ल्याइनेछ । आधुनिक प्रविधिहरू उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त गर्ने लक्ष्य लिएको छ । यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको प्रवक्ता प्रतिभा बैद्यले बताइन् । त्यस्तै पीएसटीएन सेवातर्फ ४२ हजार २ सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य छ । यस आर्थिक वर्षभित्र थप एक लाख लाइन आईपी प्रविधिबाट प्रतिस्थापन गरी पीएसटीएन सेवाको कुल जडित क्षमताको करिब ५० प्रतिशत उपकरणहरू आईपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ । त्यसपछि बाँकी ल्यान्ड लाइन सेवालाई पनि क्रमिक रूपमा आईपी बेस्ड प्रविधिमा रूपान्तरण गरिनेछ ।
ग्रामीण दूरसञ्चार कोषबाट खर्च हुने गरी भूकम्प प्रभावित क्षेत्रमध्ये अति प्रभावित चार जिल्लाका ७ सय ४७ स्थानमा ब्रोडव्याण्ड इन्टरनेट सेवा सञ्चालन तोकिएको समय अगावै सम्पूर्ण स्थानमा सेवा सञ्चाल भएको छ । जेठ मसान्तसम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ छ । यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको सुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले वृद्धि भई ५१ प्रतिशत पुगेको छ ।
सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि पाँचवटा बोलपत्र आह्वान भएको छ । पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा–धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिनेछ । साथै पहाडी जिल्लाका सदरमुकामहरूमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत एक हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालू आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गरिने कम्पनीले जनाएको छ ।