ग्यासमा प्रतिसिलिन्डर २८० रुपयाँ घाटा

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य लगातार बढ्दै गए पनि निगमले लामो समयदेखि मूल्य समायोजन नगर्दा घाटा बढेर प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ पुगेको हो ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ अगस्टमा पठाएको नयाँ मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ४६ रुपैयाँ बढेर आएको छ । निगमलाई सबैभन्दा धेरै ग्यासमा घाटा छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा पुगेको बताए । मूल्य बढेर आएकाले पछिल्लो १५ दिनमा निगमलाई १५ करोड ५ लाख रुपैयाँ घाटा भएको छ । निगमले आईओसीले पठाएको मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । निगमले इन्धनको मूल्य समायोजन गर्दै आए पनि ग्यासमा भने मूल्य समायोजन नहुँदा घाटा बढेको हो । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ ।
छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुनेगर्छ । ५५ वटा ग्यास उद्योगले ग्यासको आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । स्वचालित मूल्यअनुसार १५-१५ दिनमा मूल्य समायोजन गर्नुपर्ने भए पनि पछिल्लो एक महिना यता निगमले मूल्य समायोजन गरेको छैन । निगमलाई डिजेलमा प्रतिलिटर १ रुपैयाँ १४ पैसा घाटा छ । यस्तै पेट्रोलमा प्रतिलिटर ८७ पैसा नाफा छ । हवाई इन्धन र मट्टितेलमा पनि नाफा रहेको निगमले जनाएको छ ।