Logo

वहुक्षेत्रीय पोषण योजनाको बजेट १५०% बढ्यो

सरकारले दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि चुनौती देखिने भएपछि ५ वर्षे दोस्रो वहुक्षेत्रीय पोषण योजनाको बजेट १५४ प्रतिशतले वृद्धि गरेको छ । पहिलो वहुक्षेत्रीय पोषण योजनाको बजेट १९ अर्ब २४ करोड रहेकोमा दोस्रो योजनामा १५४ प्रतिशत वृद्धि गरेर ४८ अर्ब ९० करोड रुपैयाँ पु-याएको हो । नेपालमा मातृशिशु पोषणको स्थितीमा सुधार ल्याउन २०६९-०७९ देखि २०७४-०७५ सम्म ५ वर्षका लागि सञ्चालन गरेको वहुक्षेत्रीय पोषण योजना समाप्त भएपछि दोस्रो योजना चालू आर्थिक वर्षबाट सुरु हुँदैछ ।
एसडीजी ३.१ मा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युको अन्त्य गर्ने लक्ष्य लिइएको छ । सो लक्ष्य प्राप्तिका लागि चालू आवबाट ५ वर्षका लागि यो बजेट खर्च गरिने राष्ट्रिय योजना आयोगले सार्वजानिक गरेको दोस्रो वहुक्षेत्रीय पोषण योजनामा उल्लेख छ । पहिलो योजनाको बजेटमा नेपाल सरकार र विकास साझेदारको हिस्सामा वार्षिक रुपमा उतारचढाव देखिए पनि विगत ५ वर्षको औषत विनियोजित वजेटमा नेपाल सरकारले करिब ५१ प्रतिशत र विकास साझेदारतर्पm औषत ४९ प्रतिशत रहेको देखिन्छ ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक एवं सूचना अधिकृत शिवरञ्जन पौडेलले पहिलो योजनाको समाप्तीपछि ५ वर्षका लागि दोस्रो योजना सुरु भएर कार्यान्वयनको चरणमा रहेको बताए । दोस्रो वहुक्षेत्रीय पोषण योजनाका उद्देश्य अनुसारका क्रियाकलापहरू सञ्चालन गर्न लागि लागतको अनुमानअनुसार २०७५-०७६ देखि २०७९-०८० अवधिका लागि कुल ४८.९ अर्ब विनियोजन गरिएको छ । यो लागतलाई विषयगत क्षेत्र एवं पोषण विशेष र पोषण संवेदनशीलताअनुसार विभाजन गरिएको छ । सो अनुसार अनुसार २५ प्रतिशत अर्थात १२.२ अर्ब स्वास्थ्या मन्त्रालयका लागि विनियोजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ३५.२ प्रतिशत अर्थात १७.२२ अर्ब अनुमान गरिएको छ । कुल लागतको १८.६ प्रतिशत अर्थात ९ अर्ब, १.०४ प्रतिशत अर्थात ५१ करोड, १६.४ प्रतिशत अर्थात ८ अर्ब, र ०.८४ प्रतिशत अर्थात ४१.२ करोड क्रमशः कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको लागि विनियोजन गरिएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि स्वास्थ्य क्षेत्रमा तोकिएका सूचकांकमध्ये पोषण महत्वपूर्ण रहेको जनाउँदै सरकारले बुधबारबाट सप्ताहव्यापी स्तनपान अभियान सञ्चालन समेत गरेको छ । स्वास्थ्य सेवा विभाग, पारिवारिक स्वास्थ्य महाशाखाका प्रमुख मुकुन्दराज गौतमले स्तनपान दिवसको अवसरमा शिशुको पोषणमा प्रभाव परे भविष्यमा देशमा आवश्यक पर्ने जनशक्तिको कार्यक्षमता घटने बताए । उनले पोषणले देशको आर्थतन्त्र र दिगो विकास लक्ष्यमा समेत असर पर्ने जनाउदै पोषकका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने बताए ।
एसडीजी लक्ष्य प्राप्ती गर्न सञ्चालन गरिएको दोस्रो वहुक्षेत्रीय पोषण योजनाले हाल ५ वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपन रहेको ३५.८ प्रतिशतलाई सन् २०३० सम्म १५ मा झार्ने लक्ष्य रहेको छ । यसरी नै ५ वर्ष मुनिका बालबालिकामा हुने हालको ५२ प्रतिशतमा रहेको रक्तअल्पतालाई १० मा प्रतिशतमा ल्याउने लक्ष्य रहेको छ । यसरी नै कम तौल जन्मने सञ्ख्यालाई हाल रहेको २४ प्रतिशतबाट घटाएर ८.५ प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ ।
एसडीजीमा स्वास्थ्य क्षेत्रका अन्य सूचकांकमा परिवार नियोजनलगायत यौन तथा प्रजनन्सम्बन्धी स्वास्थ्यसेवा र सूचना तथा शिक्षामा सर्वसुलभ पहुँचका साथै तथा प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति तथा कार्यक्रममा समायोजन गर्ने कार्यलाई सुनिश्चित गर्ने उल्लेख छ । यसरी नै सर्बसुलभ स्वास्थ्यसेवा, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचित मूल्यमा अत्यावश्यक औषधी तथा खोपहरूमा पहुँच हासिल गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्