बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्री राईको निर्देशन «

बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री राईले प्रदेश–१ का सबै विभागीय मन्त्री तथा सचिवहरूलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष ०७५/७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री तथा सचिवहरूलाई एकै ठाउँ राखेर मुख्यमन्त्री राईले निर्देशन दिए ।
“हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ । अब कार्यान्वयन पक्ष कस्तो हुन्छ ? भनेर सबैको ध्यान केन्द्रित भएको छ,” मुख्यमन्त्री राईले भने, “यस बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईंहरू आजैबाट लाग्नुहोस् ।” बजेट कार्यान्वयन हुन सकेन भने जनतामा निराशा उत्पन्न हुने उनको भनाइ थियो । बजेटको अक्षरशः पालना गर्न सकिए समृद्धिको यात्रा अगाडि बढ्ने राईले बताए ।
“अब यो वा त्यो बहानामा जिम्मेवारीबाट पछि हट्ने काम नगर्नुहोला,” कर्मचारीलाई लक्षित गर्दै मुख्यमन्त्री राईले भने, “देश बनाउने महत्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ । यो सुनौलो जिम्मेवारी पूरा गरेर छाड्नुपर्छ ।” बजेट कार्यान्वयनमा केही चुनौती र समस्या भए पनि त्यसलाई चिर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । “चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन,” राईले भने, “व्यवस्थित ढंगले समस्या हल गर्दै अगाडि बढ्नुपर्छ ।” कार्यक्रममा सबै मन्त्रालयका सचिवहरूले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्