जमिन भाडामा दिएर बैंक भाडाको घरमा «

जमिन भाडामा दिएर बैंक भाडाको घरमा

कञ्चनपुर-२०२४ सालमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा विस्तार गरेको राष्ट्रिय वाणिज्य बैंक हालसम्म बजारक्षेत्रमा भाडाका घर चहार्दै बैंकिङ सेवा दिँदै आएको छ । पार्किङ सुविधानसहित अत्याधुनिक कार्यालय बनाउन प्रशस्त जग्गा हुदाहुदै पनि राष्ट्रिय वाणिज्य बैंक पाँच दशकदेखि घर भाडामा लिएर कारोबार गर्दै आएको छ ।
भीमदत्त नगरको गल्ली नं. ३ मा भाडामा घर लिएर बैंक सञ्चालनमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा नाममा गल्ली नं. ५ मा १२ कठ्ठा जग्गा छ । वाणिज्य बैंकले बैंक भाडामा बसेबापत घरधनीलाई मासिक १ लाख १० हजार रुपैयाँ भाडा तिर्दैछ भने आफूसित रहेको जग्गा व्यापारीलाई भाडामा दिएबापत मासिक ३२ हजार २२० भाडा लिँदै आएको महेन्द्रनगर शाखा प्रबन्धक कर्णदेव जोशीले बताए ।
उनले भने, “जग्गा हुँदा पनि घर बनाउने विषयमा केन्द्रीय कार्यालयमा कहिल्यै चाँसो दिइएन ।” अहिले भने बैंकको घर बनाउने विषय प्रक्रियामा छ । जिल्लामा सबै सरकारीसँगै गैरसरकारी निकायको बैंकिङ कारोबार बढी रहेको सरकारी बैंक नै साँघुरो ठाउँमा सेवा दिँदा सेवाग्राही भने मर्कामा पर्ने गरेका छन् ।
बैंकमा चाप हुनुका साथै सवारी पार्किङको निकै समस्या हुने गरेको सेवाग्राहीहरूको दुखेसो छ । आफ्नो जग्गामा बैंक कार्यालय भवन बनाउने तयारीमा रहेको बैंकले झन्डै पाँच महिनाअघि भवन बनाउने माटो परीक्षण गरेको थियो । तर, अहिले प्रक्रियाले गति पाएको छैन । बैंक शाखा प्रवन्धक जोशीले भने आगामी दुई वर्षअघि बैंकको भवन बनिसक्ने बताउँछन् । ‘भवनको नक्सादेखि स्टीमेड समेत बनेर प्रक्रिया अघि बढेको छ ।” उनले भने, “आगामी असोजसम्म भवन निर्माणको ठेक्का हुनसक्छ ।” दैनिक ३ देखि ४ करोड रुपैयाँसम्मको कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर शाखा वार्षिक ३ करोडभन्दा बढी मुनाफा आर्जन गर्दै आएको छ । बैंकले आफ्नै घर बनाएर सेवा दिने इच्छा नै नदेखाएको सेवाग्राहीको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्