भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृत निलम्बित

इलाम-इलामको माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाल निलम्बित भएका छन् । नगरपालिकामा भएको अनियमितता छानबिनका क्रममा उनी दाेषी ठहरिएपछि उनी निलम्बित भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरमा भएको आर्थिक अनियमितता अनुसन्धानका लागि उनलाई निलम्बन गरी हिरासतमा लिएको छ ।
यसअघि नगरका तत्कालिन लेखा अधिकृत रविनचन्द्र ढकाललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो । नगरको आन्तरिक लेखा परीक्षणका क्रममा लेखा अधिकृत ढकालले सञ्चित कोषमा जम्मा हुने रकम इण्डोर्स गरी आफ्नो नामको बंैक खातामा जम्मा गरेको पाइएपछि अख्तियारले नगरको श्रेस्ता लिएर अनुसन्धान अगाडि बढाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कालिदासका स्थानमा उपसविच माधव ढकाल सरुवा भएर आउने जानकारी आएपनि कार्यालयमा हाजिर नभएपछि कामकाज प्रभावित भएको नगर प्रमुख दीपक थेवेले जानकारी दिए । कोष तथा लेखा नियन्त्रकको कार्यालयका कर्मचारीले आलेप गर्ने क्रममा तत्कालिन लेखा अधिकृत रविनचन्द्र ढकालले अनियमितता गरेको पाएका थिए ।
सो क्रममा गत वैशाखमै कार्यालयमा रिपोर्टिङ गरेपछि ढकाल सरुवा भएर गएको कार्यालय कटारी नगरपालिकामा पनि यस्तो हुने भन्दै सचेत गराइएको थियो । कटारी नगरपालिकाका नगर प्रमुखले अख्तियारमा छानबीनका लागि उजुरी गरेपछि ढकाल पक्राउ परेका थिए ।
ढकाल पक्राउ लगत्तै आलेपकै क्रममा रहेको नगरको आर्थिक श्रेस्ता अख्तियारले लगेको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार तत्कालिन लेखा अधिकृत ढकालले माई नगरपालिकामा आर्थिक वर्ष २०७४÷७५ मा निकासा भएको संचित कोषको रकम एक करोड ४८ लाख ६३ हजार दुई भिन्नाभिन्नै मितिमा इण्डोर्स गरी आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा सारेका थिए ।
पहिलो चौमासिकमा निकासा भएको रकमबाट उनले ०७४ भदौ १ गते ४९ लाख ८७ हजार पाँच सय र दोस्रो चौमासिकमा निकासा भएको रकम २०७४ मंसिर २७ गते ९८ लाख ७६ हजार रुपैयाँ आफ्नो बैंक खातामा सारेका थिए । कोलेनिकाका अनुसार वित्तिय समानीकरण र ससर्त अनुदान अन्तर्गत सञ्चित कोषमा जम्मा भएको रकम सञ्चित कोषबाट चालू र पुँजीगत खातामा रकमान्तर गर्दा झुक्याएर ढकालले चालू र पुँजीगतसँगै एक अर्को चेकबाट आफ्नो व्यक्तिगत बैंक खातामा जम्मा गरेको पाइएको छ ।