अधिकांंश एसियाली सेयर बजार ओरालो

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्षमा तेस्रो पटक ब्याजदर बढाएपछि बिहीबार अधिकांश एसियाली सेयर बजार ओरालो लागेका छन् । तर, दक्षिण कोरियाली सेयर बजार भने उकालो लागेको छ ।
सुरुको नाफा उल्टँदै निकीमा ०.४६ प्रतिशतको गिरावट आएको छ । धेरैजसो अटो निर्माताहरूको सेयर ओरालो लागेको छ ।
कोरियाको कोस्पीमा १.२१ प्रतिशतको वृद्धि भएको छ । खुद्रा बित्री र उपभोक्ता क्षेत्रका सेयर भने ओरालो लागेका छन् । सोलले थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आफ्नो भूमिमा तैनाथ गरेकाले चीन र दक्षिण कोरियाबीच बढेको तनावका कारण यी क्षेत्रको सेयर मूल्य ओरालो लागेको हो ।
एस एन्ड पी-एएसएक्स रातो लाइनमा ओर्लिएको छ । यो ०.०६ प्रतिशतले ओरालो लागेको छ ।
हाङसेङ सूचक लगभग यथावस्थामा कायम भएको छ । यसमा ०.०२ प्रतिशतको गिरावट आएको छ ।
हङकङ मौद्रिक प्राधिकरणले आधार दरमा २५ बिन्दुले वृद्धि गरी १.७५ प्रतिशत पु¥याएको छ ।
पिपुल्स बैंक अफ चाइनाले रिजर्भ रिपो र मध्यकालीन कर्जा सुविधा दुवैमा ५ आधार बिन्दुले वृद्धि गरेको बताएपछि मुख्यभूमि चीनका बजार लगभग अप्रभावित भएका छन् । सांघाई कम्पोजिटमा ०.२० प्रतिशतको गिरावट आएको छ भने सेनझेन कम्पोजिटमा पनि ०.१२७ प्रतिशतको गिरावट आएको छ ।
जापानबाहेकका एसिया–प्रशान्त क्षेत्रको एमएससीआईको सूचकमा ०.५६ प्रतिशतको वृद्धि भएको छ ।