सहरी स्वास्थ्य केन्द्र भवन निर्माण

खोटाङ-खोटाङमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अख्रौले, नवलपुरवासीका समस्यालाई ध्यान दिँदै स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो ।
बाह्य खोप क्लिनिक शीर्षकमा आएको ९ लाख बजेटबाट नवलपुरमा ४ लाख ५० हजार लागतमा भवन निर्माण सम्पन्न पश्चात हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले संयुक्तरूपमा उद्घाटन गरे ।
बाह्य खोप क्लिनिक शीर्षकमा आएको रकममध्ये बाँकी ४ लाख ५० हजारले हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडास्थित झापामा भवन निर्माण गरिएको छ । नगरकै दुर्गम रहेको अख्रौलेस्थित नवलपुरका स्थानीयलाई समान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने समस्या रहेका कारण हामीले स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकतामा राखेर सेवा सुचारु गराएका हांै, मेयर राईले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपलिकाद्वारा नवलपुरका लागि विनियोजन भएको ४ लाख २५ हजार रकमले कर्मचारी व्यवस्थापन, औषधि, उपकरण तथा आवश्यक सामानको व्यवस्थापन पनि गरिएको नगरका स्वास्थ्य संयोजक रामकुमार भगतले बताए । गत जेठ महिनादेखि भवन निर्माण कार्य सुरु गरिए पनि नवलपुरमा रहेको सामुदायिक भवनमार्फत नगरले गत जेठ १ गतेदेखि नै स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको थियो ।
२ सयभन्दा बढी घर रहेका नवलपुरवासी यसअघि सामान्य स्वास्थ्य सेवा लिनका लागि २ घण्टा पैदल हिँडेर अख्रौले, धितुङ र हलेसीबजारमा रहेको स्वास्थ्य चौकी जान बाध्य थिए । सहरी स्वास्थ्य केन्द्रबाट हाल सेवा सुरु भएपछि स्थानीयवासीमा खुसी छाएको छ । नवलपुरका स्थानीयलाई ध्यान दिँदै नगरले एक अहेव र एक अनमिसँगै औषधि उपचारको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य केन्द्रबाट स्थानीयले खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षयरोग नियन्त्रण सेवा, झाडा पखालालगायतका सम्पूर्ण स्वास्थ्यसम्बन्धी सेवा पाउन थालेका छन् ।