नमुना स्कुल खोज्दै स्थानीय सरकार

दाङ-घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका उत्कृष्ट नमुना विद्यालयको खोजी थालेको छ । निश्चित मापदण्डको आधारमा नगर क्षेत्रका ५ विद्यालय छनोट गरिने घोराही उपमहानगर शिक्षा शाखाले जनाएको छ । विद्यालय, उपमहानगरपालिका र अभिभावकको सहकार्यमा नमुना विद्यालय छनोटको काम हुनेछ ।
घोराही उपमहानगरपालिकाले चालू आव ०७५/७६ मा उपमहानगरपालिका क्षेत्रका ५ नुमना विद्यालय छनोट गरेर अघि बढने नगरपालिकाले जनाएको छ । विद्यालय छनोटका लागि घोराही उपमहानगरपालिका शिक्षा शाखाले आधार तयार पार्दै गरेको समेत शिक्षा शाखाका प्रमुख नारायण पौडेलले बताए । उनका अनुसार त्यसका लागि उपमहानगरपालिकाले फाराम निर्माणको काम थालेको छ । “हामीले नमुना विद्यालय छनोटका लागि फाराम निर्माण तयारी थालेका छांै,” पौडेलले भने, “फाराममा केके राख्ने भन्ने विषय शिक्षाका सरोकारवालासँग छलफल गरेर अन्तिम रुप दिनेछौं ।” सबैको सहभागितामा आधार निर्माण गर्दा नयाँनयाँ योजना आउनसक्ने उपमहानगरपालिकाले जनाएको छ ।
फाराम निर्माण गरी सकेपछि विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि आह्वानसमेत गरिने छ । छनोट गरिएका विद्यालयलाई नमुनाको रूपमा अगाडि बढाउने काम हुनेछ । फाराम भरेर नमुना विद्यालय बनाउन तयार रहने विद्यालय मध्येबाट नै नमुना विद्यालय बनाइने शिक्षा शाखा प्रमुख पौडेलले बताए ।
विद्यालयलाई नमुना बनाउनका लागि केही रकम उपमहानगरपालिकाले सहयोग गर्नेछ भने केही रकम विद्यालय आफंैले व्यहोर्नु पर्नेछ । विद्यालय सहमति भएमात्र नमुना विद्यालय बनाउने कार्य अगाडि बढाउने योजना भएको पौडेलले बताए । नमुना विद्यालयका लागि शिक्षाको गुणस्तर, विद्यालयको आप्mनो ५ वर्षीय शैक्षिक योजना भएको, शिक्षक विद्यार्थी समयमा आउने र समयमा जाने, विद्यालय व्यवस्थापन समितिको नियमित बैठक बसेको, विद्यालयको विकास तथा शैक्षिक विकासका लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण गरेर अध्यापन, शैक्षिक क्यालेन्डरअनुसार विद्यालयमा शिक्षण सिकाइ नै मापदण्डका आधार भएको उनले बताए । त्यसैगरेर विद्यालयमा नियमित रूपमा अतिरिक्त शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन, विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, बालमैत्री व्यवहार, शौचालयको उचित व्यवस्थापन र विद्यालयमा राजनैतिक बन्दजस्ता मापदण्ड रहने पौडेलको बताए । उपमहानगरपालिकाले उत्कृष्ट शिक्षकलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम राख्ने भएको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुखका अनुसार परीक्षा सकिएपछि उत्कृष्ट शिक्षकलाई सम्मान गरिने छ । यो कार्यले शिक्षाको गुणस्तरमा सुधार आउने अपेक्षा कार्यालयले गरेको छ । त्यसैगरेर मन्टेश्वरी कक्षालाई प्रभावकारी बनाउनका लागि मन्टेश्वरी कक्षामा अध्यापन गराउने शिक्षकलाई तालिम प्रदान गरिने छ । तालिम प्रदान गर्नका लागि उपमहानगरपालिकाले सहयोग गर्नेछ । स्थानीय सरकारले नमुना विद्यालय छनोट गर्न थालेको छ । तर जिल्लाका ग्रामीणस्तरमा रहेका विद्यालयमा अहिले विद्यार्थीको अनुपातमा शिक्षक छैनन् । सहरी क्षेत्रमा विद्यार्थी अनुपातमा शिक्षकको संख्या बढी छ । त्यसैगरेर विषयगत शिक्षकको समेत अभाव छ, जसले शैक्षिक गुणस्तरमा समेत असर पुगेको छ । दरबन्दी मिलानका लागि पटकपटक प्रयास थालिए पनि दरबन्दी मिलान सार्थकता अझै पनि पाउन सकेको छैन । पछिल्लो चरणमा शिक्षक सरुवाका काम भएको छ । त्यो पनि आफंैमा पर्याप्तता नभएको शिक्षकहरूले बताएका छन् । जिल्लामा ४२६ सामुदायिक विद्यालय छन् । घोराही उपमहानगर क्षेत्रभित्र ९८ सामुदायिक विद्यालय छन् । आधारभूत ५९, निमावि १४ र मावि २५ छन् ।