Logo

मोरङ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर-मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति मोरङ र जिल्ला जनस्वास्थ्य कार्यालय विराटनगरको आयोजनामा सोमबार विराटनगरमा भएको कार्यक्रममा मोरङ जिल्लालाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
मोरङ जिल्ला पूर्णखोप सुनिश्चतता गर्ने ५५औं जिल्ला भएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले १५ देखि २३ महिनासम्मका १९ हजार ४ सय बालबालिकालाई पूर्णखोप लगाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरे । यस्तै चाँडै नै उनले मोरङलाई साक्षर जिल्ला, खुल्ला दिसामुक्त र महिला हिंसामुक्त जिल्ला घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । “अब मोरङ पूर्णखोप सुनिश्चितता भएको जिल्ला भएको छ,” पोखरेलले भने, “साक्षर र खुल्ला दिसामुक्त जिल्ला चाँडै घोषणा गर्ने तयारी गरिरहेका छौं ।”
कार्यक्रममा प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्णखोप भएसँगै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले प्रदेश नम्बर १ ले २०७५ साललाई स्वास्थ्य प्रवद्र्धनात्मक वर्ष घोषणा गरी १५ हजार सर्वसाधारणको शिविर सञ्चालन गरी स्वास्थ्य चेकजाँच गरेको बताए । “घोषणा गरेर मात्रै हुँदैन कार्यान्वयन पक्ष बलियो हुनुपर्छ,” घिमिरेले भने, “मलाई लाग्छ महानगरवासीले घोषणा कार्यान्वयन गर्नेछन् ।”
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले पैसाको अभाव विद्यालय शिक्षाबाट कोही पनि वञ्चित हुनु नपरोस् र स्वास्थ्यको अभावले कोही पनि छटपटाएर मर्नु नपरोस् भनी काम अगाडि बढाइएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख रामनन्दन यादवले कार्यपत्र प्रस्तुत गर्दै खोप कार्यक्रमले २५ प्रतिशत बाल मृत्युदर घटाउन र अपांगता हुनबाट जोगाएको जानकारी गराए । प्रदेश सांसद जयराम यादव, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, कांग्रेस जिल्ला सचिव नागेश कोइरालालगायतले सबै मिलेर कार्यक्रमलाई सफल बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्