अमेरिकाले रोक्न नसक्ने रुसको हाइपरसोनिक क्षेप्यास्त्र २०२० मा लडाइका लागि तयार हुने

मस्को-हाल अमेरिकाले रोक्न नसक्ने भनिएको रुसी क्षेप्यास्त्र २०२० मा लडाइका लागि तयार हुने अमेरिकी जासुसी रिपोर्टले देखाएको छ ।
रुसले हावाबाट जमिनमा मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र तीन पटक सफलतापूर्वक परिक्षण गरेको नाम नबताउने सर्तमा एक अधिकारीले बताएका छन् ।
किन्झल नामको क्षेप्यास्त्र यसै महिनाको सुरुमा तेस्रो पटक परिक्षण गरिएको हो । यो क्षेप्यास्त्रले ५ सय माइलको दुरीमा निशानामा मार हान्न सक्छ ।
रुसी मिग–३१ फाइटर जेटमा हाइपरसोनिक क्षेप्यास्त्रको १२ पटक परिक्षण गरिएको छ ।
यो नयाँ विकास गरिएको क्षेप्यास्त्रले क्रेमलिनको हतियारमा नयाँ आयाम ल्याएको छ ।
ट्रम्प र पुटिनबीच सोमबार मात्रै हेलसिंकीमा भेटवार्ता भएको छ । वार्ता सफल भएको पनि बताइएको छ ।
चीन र रुस दुवैले विकास गरिरहेको उच्च गतीको हतियार अमेरिकाका लागि खतरा भएको अमेरिकाका वरिष्ठ परमाणु कमाण्डरले बताएका छन् ।
“हाम्रा बिरुद्धमा प्रयोग हुने यस किसिमको हतियारको परिचालनको हामीसँग कुनै पनि प्रतिरक्षा प्रणाली छैन,” यूएस स्ट्राटेजिक कमाण्डका कमाण्डर जोन हिटेनले बताए । हालको अवस्थामा अमेरिका यस किसिमको हतियार आउन नदिननै सतर्क रहन आवश्यक भएको उनले बताए ।
“रुस र चीन दुवैले आक्रामक रुपमा हाइपरसोनिक क्षमताको विकास गरिरहेका छन्,” हिटेनले बताए । “हामीले उनीहरुल यो क्षमताको परिक्षण गरिरहेको देखेका छौ,” उनको भनाई थियो ।
स्टेट अफ द नेसनको सम्बोधनका क्रममा पुटिनेल देशको हाइपरसोनिक हतियार अत्यावस्यक भएको बताएपछिको अवस्थामा हिटेनका यो टिप्पणी आएको हो ।