नाइकले जित्यो विश्वकप

धेरैलाई लाग्न सक्छ, आइतबार राति मस्कोमा सम्पन्न भएको फिफा विश्वकपको फाइनल फ्रान्स र क्रोएसियाबीच भएको थियो । तर, असली खेल भने नाइक तथा एडिडासबीच भएको छ । विश्वकप फुटबल खेलकुदका सामग्री उत्पादन गर्ने कम्पनीका लागि एउटा ठूलो व्यापारिक सपना हो । खेलकुदका सामग्री उत्पादन गर्दै आएका विश्वका ठूला ब्राण्डलाई अनुमानित १ अर्ब बढी समर्थकले एकैपटक हेर्न पाउने यो प्रतियोगिता एउटा सबैभन्दा ठूलो अवसर हो ।
नाइक र एडिडास दुवैले विश्वकपमा आफूले गरेको खर्च सार्वजनिक गर्दैनन् । तर, विश्लेषकहरूले भने २०१४ मा एडिडासले प्रायोजनमा १ अर्ब अमेरिकी डलर खर्च गरेको अनुमान गरेका छन् । २०१४ को विश्वकपको फाइनलमा एडिडासले नै प्रयोजन गरेको अर्जेन्टिना र जर्मनी फाइनलमा थिए । फाइनलमा जर्मनीले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो ।
त्यस्तै, २०१४ मा विश्वकपकै कारण नाइकले आफ्नो व्यापार ३६ प्रतिशतले बढेको बताएको थियो । जर्मनीको कम्पनी एडिडासले जर्मनले नै २०१४ विश्वकप जितेपछि २ अर्ब यूरो बराबरको खेल सामग्री बेचेको थियो । एडिडासका सीईओ कास्पर रोस्र्टेडले दुइ महिनाअघि आफ्ना लगानीकर्तालाई रसिया विश्वकप ब्रान्डिङका लागि मात्रै महत्वपूर्ण हुने र धेरै कमाइको अपेक्षा राख्न नहुने बताएका थिए । “हामीले रसिया विश्वकपलाई ब्राण्ड निर्माणको अवसरका रूपमा मात्रै लिएका छौं । यसबाट धेरै कमाइको अपेक्षा राखेका छैनौं,” उनले भने ।
एडिडासले १९७० देखि नै फिफालाई प्रायोजन गर्दै आएको छ । उसले बल ब्राण्डिङ, रेफ्रीले प्रयोग गर्ने सामग्री र स्टेडियम वरपर प्रचार सामग्रीमा खर्च गर्दै आएको छ । तर, नाइकको व्यापार शैली भने अलि फरक छ । उसले खेलाडी र टिमलाई प्रायोजन गर्ने गर्छ । उसले खेलाडीले लगाउने सबै सामग्रीमा प्रायोजन गर्ने गरेको छ ।
रसिया विश्वकपमा एडिडासले १२ टिमलाई प्रयोजन गरेको थियो । जसमा जर्मनीपनि समावेश थियो र जर्मनीलाई उसले ५६.७ मिलियन अमेरिकी डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले फ्रान्सको टोलीलाई ५६ मिलियन डलर र इंग्ल्याण्डलाई ४० मिलियन डलर बराबरको प्रायोजन गरेको थियो । नाइकले धेरै लगानी गरेका दुवै टोली सेमिफाइनलमा पुगे । एडिडासले प्रायोजन गरेको बेल्जियम मात्रै सेमिफाइनलमा पुगेको थियो । बेल्जियमलाई सेमिफाइनलमा फ्रान्सले १–० ले हराएको थियो ।
एडिडास फुटबल सामग्री उत्पादन गर्ने विश्वको एक नम्बर ब्राण्ड हो । उसको विश्व बजारमा २९ प्रतिशत हिस्सा रहेको बताइएको छ । नाइक भने अमेरिकमा मात्रै एडिडाससंग प्रतिस्पर्धामा छ । टिमलाई कसले प्रायोजन गर्यो भन्ने त्यति महत्वपूर्ण हुँदैन । किनकी प्रत्येक खेलाडीले आफुलाई मन पर्ने ब्राण्ड सामग्री प्रयोग गर्न पाउँछन् । यसपालीको विश्वकपमा करिब ६५ प्रतिशत खेलाडीले नाइकको जुत्ता लगाएका छन् । सेमिफाइनलसम्म भएका १५० गोलमध्ये ९४ गोल नाइकका बुट लगाउने खेलाडीले गरेका हुन् । यसले नाइकको ब्राण्ड निर्माणमा ठूलो सहयोग पुर्याएको विश्लेषकहरू बताउँछन् ।
गोल्डेन बुटका दावेदारहरू ह्यारी केन, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र उरुग्वेका एडिन्सन काभानीले नाइकको बुट लगाएका थिए । एडिडासको बुटचाहिँ अर्जेन्टिनाका लियोनल मेस्सी र एन्जल डी मारियाले लगाएका थिए । तर, नकआउट चरणमा अर्जेन्टिनलाई फ्रान्सले ४–३ गोलले हरायो ।
पछिल्लो समय विज्ञापनमा गरिने खर्चभन्दा सामाजिक सञ्जाल बजारीकरणका लागि प्रभावकारी देखिएको छ । विश्लेषकहरू चर्चित खेलाडीका इन्स्टाग्राम, ट्वीटर र फेसबुकमा गरिएको विज्ञापन प्रभावकारी हुने बताउँछन् । रोनाल्डो नेयमार र मेस्सीजस्ता खेलाडीका सामाजिक सञ्जालमा अर्बौं फलोअर्स छन् । खेलाडीलाई प्रायोजन गर्नु टेलिभिजन र पत्रपत्रिकामा विज्ञापन दिनुभन्दा प्रभावकारी भएको उनीहरूको निष्कर्ष छ । किनकी खेलाडीहरूको फ्यान फलोइड नै अर्बौं रहेकोले एकैपटक धेरैले उक्त विज्ञापन देख्छन् ।
एजेन्सीको सहयोगमा