मेडिकल शिक्षाको पुँजीगत बजेट दोब्बर

सरकारले मेडिकल कलेज पूर्वाधार निर्माणका लागि हालसम्म कै उच्च पुँजीगत बजेट विनयोजन गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ मा उच्च शिक्षाको पूर्वाधार निर्माणका लागि छुट्याएको कुल बजेटको ४० प्रतिशत बजेट मेडिकल शिक्षाको नयाँ पूर्वाधार निर्माणका लागि छुट्याएको हो । सरकारले आगामी आर्थिक वर्षको लागि उच्च शिक्षाको पूर्वाधार निर्माणका लागि ३ अर्ब ९२ करोड विनियोजन गरेकोमा मेडिकल कलेज पूर्वाधारको लागि मात्र १ अर्ब ५४ करोड विनियोजन गरेको छ । यसमा चालू खर्चसमेत जोड्ने हो भने अझ बढी आउने देखिएको छ । यसबाहेक अन्य ६० प्रतिशत पुूजीगत खर्च शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायका अन्य पूर्वाधारका लागि बाँडेर खर्च गरिने छ ।
आगामी आवमा मेडिकल शिक्षा पूर्वाधारमा धेरै छुट्याएको भए पनि चालू आवमा पुँजीगत खर्च शिर्षकमा १ अर्ब ८२ करोड छुट्याएको छ । चालू आवमा मेडिकल शिक्षा पूर्वाधारका लागि ५० करोड मात्र छुट्याएको छ । चालू आवमा पूर्वाधार निर्माणको लागि छुटयाएको बजेटको हिस्सा २० प्रतिशतको हाराहारीमा रहेको छ । तर आगामी वर्ष भने पूर्वाधार निर्माणको बजेट हिस्सा बढेर दोब्बर भएको छ । विश्वविद्यालय अनुदान आयोगका प्राध्यापक डा. देवराज अधिकारीले सरकारले उच्च शिक्षाको चिकित्सा विज्ञान तथा प्रविधि विषयमा बजेट वृद्धि गरेको बताए । “सरकारले मेडिकल शिक्षा र कृषि तथा वन विज्ञानका लागि धेरै बजेट विनियोजन गरेको छ,” उनले भने, “यस वर्ष बिगतका वर्षको तुलनामा उच्च शिक्षाको मेडिकल क्षेत्रको समग्र बजेट वृद्धि भएको छ ।” विनियोजित यो बजेटबाट सरकारले कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण निर्माण (भवन निर्माण शैक्षिक प्रयोजन) का लागि १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ । यो रकम पहिलो दोस्रो र तेस्रो चौमासिकमा क्रमस ६०, ३५ र २९ करोड गरेर निकासा गर्ने गरी कार्यक्रम तयार गरिएको छ । यसैगरी सुर्खेत, बर्दिबास र बुटवलमा मेडिकल कलेज पूर्वाधार निर्माण कार्यका लागि अनुदान (शैक्षिक उपकरण र औजारसहित) ३० करोड रुपैयाँ विनियोजन गरेको आयोगले जनाएको छ । चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेको नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद भवन निर्माण गर्न ७५ लाख र सोही विश्वविद्यालयमा प्राकृतिक चिकित्सा तथा योग विज्ञान स्नातक तहको कार्यक्रम सञ्चालनका लागि ५० लाख विनियोजन गरेको छ । यसबाहेक देशभरका मेडिकल कलेजलाई दिने नियमित बजेट भने यथावत नै छ ।
सरकारले आगामी आवका लागि छुटयाएको बजेट नियमित रूपमा बर्सेनि अन्य मेडिकल कलेज, पूर्वाधार र अन्य क्षेत्रमा विनियोजन गरिँदै आएको बजेट भन्दा छुट्टै कार्यक्रम हो । सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका बाहेक विश्वविद्यालय अनुदान आयोगमार्फत करिब २ अर्ब रुपैयाँको पूर्वाधार लगानी गर्ने भएको हो ।
कार्यक्रम | बजेट (रु हजारमा) |
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण उपभोग | ९५ लाख ३८ हजार |
गेटा मेडिकल कलेज भवन निर्माण | १ अर्ब २४ करोड |
सुर्खेत, बर्दिवास र बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण अनुदान | ३० करोड |
अन्य नियमित | २ अर्ब ३८ करोड |