आजको रोपाइँ भोलिको कमाइ «

आजको रोपाइँ भोलिको कमाइ

—झलनाथ खतिवडा
नेपाल एक कृषिप्रधान देश हो । यस देशमा कृषि उपजको उत्पादन र बिक्री–वितरणबाहेक अन्य औद्योगिक क्षेत्रहरूको व्यावसायिक रूपमा उत्पादन हुन सकेको छैन । व्यावसायिक रूपमा उद्योगहरूले व्यवसायलाई यथोचित कार्य गर्न नसकेको वर्तमान अवस्था रहेको छ । कृषि र उद्योगमा आश्रित नेपाली जनताले आफ्नो भविष्यलाई उपलब्धिमूलक बनाउन र आफूले जस्तो दुःखजिलो गरी जीवनयापन गर्न नपरोस् भनी वैकल्पिक लगानीको क्षेत्र खोज्दै आएको पाइन्छ ।
दीर्घकालीन लगानीको क्षेत्रमध्ये लगानीको स्रोतमध्ये प्राथमिक सेयर बजारमा लगानी एक क्षेत्र हो । तपाईंहरूले सेयर बजारमा आफ्नो भविष्य सुरक्षित बनाउन सक्नुहुन्छ । हिजोआज नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने उत्पादनमूलक, व्यापारिक कम्पनी, बैंक तथा वित्त कम्पनी, इन्स्योरेन्स, हाइड्रो र म्युचुअल फन्डहरू रहेका छन् । लगानीकर्ताहरूले ती कम्पनीमा उनीहरूले त्रैमासिक रूपमा प्रकाशित गर्ने वित्तीय विवरणहरूको सूक्ष्म अध्ययन गरेर दोस्रो बजारमा लगानी गर्न सकिन्छ । अनि नयाँ–नयाँ कम्पनीहरूले साधारण सेयर जारी गरिरहेका हुन्छन्, ती कम्पनीको प्रतिसाधारण सेयर रु. १ सय अंकित दरका सेयरमा पनि सकेसम्म लगानी गरिरहने गरिएमा उक्त आज गरिएको लगानी भोलिको कमाइमा परिणत गर्न सकिन्छ ।
अर्काे दीर्घकालीन लगानीको क्षेत्र मुद्दती निक्षेप र घरजग्गामा लगानी पनि हुन् । तपाईंसँग एकमुस्ट रकम छ, त्यसको खासै आवश्यकता छैन भने साधारण बचत गर्नुभन्दा मुद्दती बचत गर्दा पनि तपाईंलाई बैंकले एकै किसिमको ब्याज प्रदान गर्छ, जसले तपार्इंको कमाइमा कुनै पनि घटबढ हुन दिँदैन । घरजग्गा जमिनमा पनि तपाईंले ठाउँ पायक जस्तै मेनबाटोले भेटेको जग्गा, उत्पादनमूलक उद्योग, कलकारखाना, सरकारी कार्यालय, अस्पतालनजिकैका क्षेत्रमा जग्गामा लगानी गर्न सक्दा पनि भविष्यमा राम्रैै आम्दानी लिन सकिन्छ । आजको १० वर्षसम्म लगभग दुई गुणा जग्गाको मूल्यमा वृद्धि हुन सक्छ ।
हामी नेपालीहरूको कमाइअनुसार नै खर्च गर्ने बानी रहेको छ । एक उदाहरण लिऊ, यदि तपाईंले १ सय रुपैयाँ कमाइ गर्नुभएको छ भने २० रुपैयाँ अनिवार्य बचत गर्ने बानी बसाल्नुपर्छ, जसले तपाईंको भोलिको भविष्यको रेखा कोर्न मद्दत गर्छ । यदि कुनै कारण र भविष्यमा तपाईंको रोजीरोटी खोसिएर रोजगारीविहीन हुनुप-यो भने तपाईंलाई त्यो बचत गरेको २० रुपैयाँले दैनिकी र आफ्नो परिवार चलाउन ठूलो मद्दत गर्छ, त्यसैले आजको बचतले तपाईंको दीर्घकालीन कमाइमा ठूलो टेवा पु-याउँछ ।
एक काम दुई पन्थ भनेझैं तपाईं–हाम्रो जीवनमा आइपरेका उतारचढावलाई व्यवस्थित गर्दै जीवन बिमा र निर्जीवन बिमा गर्दै आफू र आफ्नो परिवारको स्वास्थ्यका साथसाथै जोखिम कम गर्न ठूलो मद्दत मिल्छ, जसका साथसाथै जीवन बिमा गर्दा दुई किसिमको फाइदा लिन सकिन्छ । एकातर्फ जीवनको सुरक्षा प्राप्त गर्न सकिन्छ भने अर्कातर्फ बिमा अवधि समाप्त भएपछि बिमितले एकमुस्ट रकम प्राप्त गर्न सकिन्छ भन्नुको मतलब उही पैसाले जीवनको सुरक्षा हुनुका साथै दीर्घकालीन बचतसमेत हुन्छ । त्यो तपाईंको आज रोपाइँको फल भोलि सहज तरिकाले प्राप्त गर्न सकिन्छ । त्यसैले आजको रोपाइँलाई भोलिको कमाइमा बदल्न यी माथि उल्लेख गरिएका कुराहरूको पालना गरौं, जीवनमा कहिले पनि दुःख पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्