इन्धनको मूल्यवृद्धि «
Logo

इन्धनको मूल्यवृद्धि

नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्यमा वृद्धि गरेको छ । सबै प्रकारको इन्धनमा मूल्य बढाइएको निगमले जनाएको छ ।निगमको शुक्रबार बसेको बोर्ड बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३–३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य १ सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७-७७ रुपैयाँ र हवाई इन्धन आन्तरिकको मूल्य ८७ रुपैयाँ बनाइएको छ भने हवाई इन्धन बाह्यको मूल्य प्रतिहजार लिटर ८ सय ५० डलर कायम गरिएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ७४ र खाना पकाउने ग्यासलाई प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ थियो ।
यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दीपायलका लागि तय गरिएको पनि उनले जनाए । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको भन्दै उनले चारआली, वीरगन्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसामा खरिद गर्न पाउने छन् ।यसैगरी, खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।
नयाँ मूल्य अनुसार अब निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढे पनि निगमले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा बेहोर्नुपर्नेछ । किनकि मिसावट हुन नदिन डिजेल र मट्टीतेलको मूल्य बराबरी राख्ने गरिएको छ । त्यस्तै, खाना पकाउने ग्यासमा अझै प्रतिसिलिन्डर २२६ रुपैयाँ ७७ पैसा घाटा रहने उनले बताए । मूल्य बढाउँदा पनि नेपालमा कायम हुने मूल्य भारतको भन्दा डिजेलमा २३ रुपैयाँ ९९ पैसा र पेट्रोलमा १९ रुपैयाँ ४० पैसा सस्तो पर्नेछ । यसबाट इन्धन फेरि भारततर्फ चोरी निकासी हुनेतर्फ सचेत रहेको पनि निगमले जनाएको छ ।
यसअघि सरकारले चुनावअघि इन्धनमा मूल्यवृद्धि गरेको थियो । तर, त्यसको विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशमा मूल्यवृद्धि फिर्ता लिइएको थियो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको गोइतले बताए । मूल्य समायोजन नगर्दा पछिल्लो समयमा निगमलाई मासिक घाटा १ अर्ब ६ करोड मासिक घाटा हुँदै आएको थियो । मूल्य समायोजन भए पनि निगमले मासिक ४० करोड अझै घाटा बेहोर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्