टेलिकमलाई १ नम्बरमै राख्ने निर्देशन

काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरेका छन् । मन्त्री बाँस्कोटाले सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा टेलिकम सधैं एक नम्बरमै रहनुपर्ने बताएका छन् । ‘स्मार्ट नेपाल’ बनाउन टेलिकम पनि ‘स्मार्ट’ हुनुपर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने बताएको छ ।
टेलिकमले पूर्वाधारको विकासमा जोड दिँदै जनताको घर–घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनुपर्ने भन्दै यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा आगामी दिनमा मन्त्रालयको संलग्नता रहिरहने बताएका छन् । प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरूलाई इमान्दारिताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन् ।
कम्पनीका ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित र एकजुट भई आ–आफ्नो क्षेत्रबाट कार्य गर्न सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरिन् । सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रको वर्तमान स्थिति, कार्यक्रम र गतिविधि बारेमा जानकारी दिइन ।