केन्द्रीय बैंकले ‘रिस्क वेस’ सुपरिवेक्षण गर्ने «

केन्द्रीय बैंकले ‘रिस्क वेस’ सुपरिवेक्षण गर्ने

केन्द्रीय बैंकले नयाँ बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा परिमार्जन गर्दै जोखिममा आधारित सुपरिवेक्षणको व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले जोखिममा आधारित सुपरिवेक्षण सुरु गर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि कम्प्लायन्स वेस सुपरिवेक्षण गर्दै आएकोमा नयाँ विनियमावली नै बनाएर ‘रिस्क वेस’ सुपरिवेक्षण पनि गर्ने भएको हो ।
केन्द्रीय बैंकले नयाँ बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा परिमार्जन गर्दै जोखिममा आधारित सुपरिवेक्षणको व्यवस्था गरेको हो । विनियमावली अनुसार निरीक्षण टोलीले आफुले निरीक्षण गरेको वाणिज्य बैंक वा वित्तीय संस्थाको रेटिङ गरी स्तर निर्धारण गर्नुपर्ने हुन्छ । यसअघि नियमको पालना भए-नभएको विषयमा मात्र सुपरिवेक्षण हुने गरेको हुनाले विनियमावलीलाई समयसापेक्ष बनाएर जोखिममा आधारित सुपरिवेक्षण पनि गर्ने व्यवस्था गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “यसअघिको विनियमावली तयार गर्दा जोखिममा आधारित सुपरिवेक्षण आएको थिएन,” ती अधिकारीले भने, “काम गर्दै जाँदा देखिएका विविध पक्षलाई समेटेर समय सापेक्ष विनियमावली तयार गरेका हौं ।”
केन्द्रीय बैंकले नियमन गर्ने बैंक वित्तीय संस्थाको ऐन नियमको पालनाको अवस्था मात्र नभै समग्र वित्तीय अवस्था तथा जोखिमका पक्षलाई पनि सुपरिवेक्षण गर्ने भएको छ । केन्द्रीय बैंकले खटाएको निरीक्षण टोलीले ऋणीले लगानी गरेको परियोजनाको समेत निरीक्षण गर्ने व्यवस्था गरेको छ ।
केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाको सुपरिवेक्षण गर्दा जोखिम विवरण पनि तयार गर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंक वा वित्तीय संस्थाहरूको जोखिममा आधारित सुपरिवेक्षण विधि अनुरुप गरिने समष्टिगत स्थलगत निरीक्षणपछि म्यानुअल अनुरुपको सम्बन्धित संस्थाको जोखिम विवरण तयार गर्नुपर्नेछ ।
त्यसका साथै केन्द्रीय बैंकले क्यामेल्स रेटिङ पनि गर्नेछ । वाणिज्य बैंक वा वित्तीय संस्थाको पुँजीकोषको पर्याप्तता, सम्पत्तिको गुणस्तर, व्यवस्थापन, प्रतिफल, तरलता तथा बजार जोखिमको संवेदनशीलतालाई प्रमुख आधार बनाइ रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, लघुवित्त वित्तीय संस्था, इजाजतपत्र प्राप्त सहकारी संस्था र गैरसरकारी संस्थाको हकमा भने सम्बन्धित निरीक्षण कार्यविधिमा उल्लेख भएबमोजिम मूल्यांकन गर्न सकिने व्यवस्था गरेको हो । रेटिङ गर्दा प्रयोग गरिने परिमाणात्मक र गुणात्मक परिसूचक स्थलगत निरीक्षण कार्यविधिमा उल्लेख भएबमोजिम हुनेछ । निरीक्षण गरिएको वाणिज्य बैंक वा वित्तीय संस्थाको रेटिङ प्रतिवेदन कार्यान्वयनका क्रममा आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्नु पर्नेसमेत व्यवस्था छ । केन्द्रीय बैंकले निरीक्षण स्थलगत निरीक्षण र गैर–स्थलगत सुपरिवेक्षण गर्न सक्नेछ ।
स्थलगत निरीक्षणभित्र सामान्यतः सञ्चालक समितिको गठन र बैठकका निर्णयहरू, रणनीतिक कार्ययोजना, व्यावसायिक कार्ययोजना, आन्तरिक नियन्त्रण प्रणाली, पुँजी योजना तथा पुँजीकोष पर्याप्तता, कोष एवं सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्जा प्रशासन, नीति, निर्देशिका, सम्पत्तिको गुणस्तर तथा कर्जा जोखिम व्यवस्थापन, तरलता, बजार, ब्याजदर तथा सञ्चालन जोखिम व्यवस्थापन पक्षको अध्ययन गर्ने व्यवस्था छ । त्यसका साथै विदेशी विनिमय कारोबार तथा विदेशी विनिमय जोखिम व्यवस्थापन, समग्र जोखिम व्यवस्थापन, वासलात बाहिरका कारोबारको स्थिति, व्यवस्थापन सूचना प्रणाली, अभिलेख प्रणाली र सुरक्षा, मानव संशाधन व्यवस्थापन, सम्पत्ति शुद्धीकरण निवारण कानुन र निर्देशनको कार्यान्वयन अवस्था, सम्बन्धित वाणिज्य बैंक वा वित्तीय संस्थाले तयार गरी कार्यान्वयनमा ल्याएका सबै नीति, कार्यविधि, मार्गदर्शन (म्यानुअल, गाइडलाइन आदिको विवरण), सो को अध्यावधिक अवस्था, प्रचलित कानुन तथा बैंकबाट जारी गरिएका नियमन, आदेश तथा निर्देशनको अनुपालनाको अवस्था र विभागले तोकेका तथा आवश्यक ठानेको अन्य तथा क्षेत्रहरू सुपरिवेक्षण गर्न सक्नेछ ।
गैर–स्थलगत सुपरिवेक्षणले वाणिज्य बैंक वा वित्तीय संस्थाको वित्तीय अवस्था सम्बन्धमा नियमित जानकारी लिने तथा बैंक-वित्तीय संस्थाको निरन्तर वित्तीय विश्लेषण गरी सम्भाव्य जोखिम तथा समस्याको पहिचान गर्ने तथा पूर्वसंकेत प्रणालीको अनुगमन गर्ने उद्देश्य रहेको हुन्छ । स्थलगत निरीक्षणको गुणस्तरलाई सहयोग गर्ने र वाणिज्य बैंक वा वित्तीय संस्थाबाट प्राप्त वित्तीय विवरण एवं अन्य कागजातको आधारमा ऐन, प्रचलित कानुन, नियमन, आदेश तथा निर्देशनको पालना भए नभएको यकिन गर्ने उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्