पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

‘पर्ख र हेर’को अवस्थामा छौ: निगम |
बुधबारमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनासम्ममा औषत मुद्रास्फीति ४.१ प्रतिशत रहेको छ । यसरी लगातार इन्धनको मूल्य बढिरहे सरकारले चालू आवमा मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्न लिएको लक्ष्यसमेत प्रभावित हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लाग्दै गएको छ । तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्यधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो । तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागिपरेको देखिन्छ ।
अमेरिका र इरानबीच भएको परमाणु सम्झौताबाट इरान बाहिर निस्कने भएपछि इरानले बजारमा तेल नपठाउँदा कच्चा तेलको मूल्य बढ्दै गएको हो । त्यसको प्रभावले गर्दा केही समययता अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमिकरूपमा उकालो लाग्दै आएको छ । अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको कारणले गर्दा इरानले बजारमा तेल नपठाउँदा अभाव भइ मूल्य क्रमशः बढ्दै गएको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै बढ्ने देखिएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्ने निगमको भनाइ छ ।
निगमका कार्यकारी निर्देशक सुशील भट्टराई अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको बताउँछन् । “बजारमा आपूर्ति सुनिश्चिता कायम राख्नका लागि अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्नुपर्छ,” कार्यकारी निर्देशक भट्टराईले भने, “कच्चा तेलको मूल्य अझै बढ्ने देखिएकाले हामी पर्ख र हेरको अवस्थामा छांै ।” तेलको मूल्य बढेर आएकाले निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य बढाउदै गएको उनको भनाइ छ ।
तेल उत्पादक कम्पनीले कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि नजाने भनेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । बुधबार मूल्य बढाएपछि निगम ‘नाफा न घाटा’को अवस्था छ । उनी भन्छन्, “अर्काे महिना मूल्य बढेर आयो भने व्यवस्थापन गर्न कठिन रहने देखिन्छ ।” अब आउने मूल्यमा पुनः बढेर आए डिजेल र पेट्रोलको मूल्य बढाए पनि ग्यासको मूल्य भने स्थिरिकरण कोषबाट समायोजन गरिने उनको भनाई छ । २०७१ कात्तिकमा कच्चा पदार्थको मूल्य १ सय ७ प्रतिव्यारेल पुग्दा नेपालमा पेट्रोल प्रतिलिटर १ सय ३० र डिजेल १ सय ३ रुपैयाँ पुगेको थियो । पुनः मूल्य घटेर ०७३ मा पेट्रोल प्रतिलिटरमा ९७ रुपैयाँ र डिजेल ७३ रुपैयाँसम्म झरेको थियो । त्यसपछि इन्धनको मूल्य क्रमशः बढ्दै गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएपछि स्वचालित मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । विगत चार महिनायता इन्धनको मूल्य लगातार बढ्दै गएको छ ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले मे १६ मा पठाएको नयाँ मूल्यअनुसार निगमले बुधवार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको थियो । नयाँ मूल्यअनुसार काठमाडौंमा अब पेट्रोल लिटरको १ सय १० रुपैयाँ र डिजल तथा मटीतेलको खुद्रा मूल्य ९२ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार ७८ अमेरिकी डलर रहेकोमा बिहीबार ७९ डलर पुगेको छ । कच्चा तेलको मूल्य वृद्धिसँगै अमेरिकी डलरको मूल्य बढेकाले अहिले निगमलाई ७८ करोड रुपैया घाटा भएको भट्टराईको भनाइ छ । लामो समयदेखि नाफा कमाउँदै आएको निगम लगातार इन्धनको मूल्य बढेर आएकाले अहिले नाफा र घाटाको अवस्थामा छ । निगमले इन्धनको मूल्य बढाएपनि सीमानाकाको तुलनामा नेपालमा डिजेल र पेट्रोलको मूल्य अझ सस्तो रहेको छ । भारतभन्दा नेपालमा डिजेल प्रलिलिटरमा २३ रुपैयाँ ६५ पैसा र पेट्रोल २० रुपैयाँ ६६ पैसा रहेको छ । नेपालमा सस्तो मूल्य हुँदा पुनः नाकाबाट बाहिर जाने गरेको छ ।