स्वास्थ्यमा जिम्मेवार रामारोशन गाउँपालिका

रामारोशन गाउँपालिकाले नागरिकको स्वास्थलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा नमुना कार्य गरेको छ ।
विभिन्न ठाउँमा स्थानीय तहकै कारण औषधि खरिददेखि स्वास्थ्य क्षेत्रको ब्यवस्थापनमा समस्या भइरहेका बेला रामारोशन गाउँपालिकाले ५० लाख लागतमा औषधि र स्वास्थ्यसम्बन्धी औजार उपकरण खरिद गरेर सबै स्वास्थ्य संस्थालाई परिपक्व बनाएको छ ।
गाउँपालिका अन्तर्गतका ७ वटै वडामा रहेका स्वास्थ्य संस्थालाई सरकारी मापदण्डअनुसार ४५ प्रकारका औषधि खरिद गरी हस्तान्तरण प्रक्रिया अघि बढाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटाले बताए । उनका अनुसार ३० लाख बराबरको औषधि खरिद भएको छ भने बाँकी औजार उपकरण खरिद गरेर ५० लाख बराबरको लगानी स्वास्थ्य क्षेत्रमा भएको छ ।
“अबको १ वर्षसम्म औषधि अभाव हँुदैन र १० वर्षसम्मका लागि पुग्ने बिरामी र सुत्केरी बेडलगायत औजार उपकरण स्वास्थ्य संस्थामा उपलब्ध गराइएको छ ।” स्वास्थ्य शाखा संयोजक देवकोटाले भने, “हामीलाई स्वास्थ्य मन्त्रालयबाट ३ लाख ७० हजारमात्रै आएको थियो तर गाउँपालिकाबाट औषधि खरिद र औजार उपकरण खरिदका लागि उल्लेख्य बजेट छुट्याएपछि सहज भएको हो ।”
पछिल्लो समय पूर्ण खोपयुक्त अभियान प्रभावकारी बनेको, शिशु मृत्युदर र मातृ मृत्युदरमा कमी भएको, ८३ वटा आमा समूहमार्फत खोप, स्वास्थ्य र सरसफाइको काम भइरहेको, सबै खोपकेन्द्र र आमा समूहमा स्टेचरको ब्यवस्थासहित स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता गराइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
रामारोशन गाउँपालिकाका ७ वटै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी, भौतिक संरचनाको अभाव छैन भने सबै ठाउँमा बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताए । हरेक टोलटोलमा गठन भएका आमा समूह र त्यहाँ रहेका खोप केन्द्रको ब्यवस्थापनका लागि गाउँपालिकाले योजना बनाइरहेको उनको भनाइ छ । प्रत्येक खोप केन्द्रमा एक कोठाको भवन बनाई खोप सेवा र स्वास्थ्य तथा सरसफाइ कार्यलाई गाउँगाउँसम्म प्रभावकारी बनाइने गाउँपालिकाले जनाएको छ ।
रामारोशन गाउँपालिकामा तत्कालीन सांसद जानकी साउदको सांसद विकास कोषबाट प्राप्त एम्बुलेन्सले चौबिसै घण्टा एम्बुलेन्स सेवा दिइरहेको छ । सुत्केरी महिला तथा अन्य बिरामीलाई जिल्ला अस्पताल, बयालपाटा अस्पताल र अन्य स्वास्थ्य संस्थामा लैजान एम्बुलेन्स सेवाले सहज भएको स्थानीयले बताएका छन् ।
-होम साउद