बलात्कार आरोपमा बौद्ध धर्मगुरु पक्राउ

युवती बलात्कार अभियोगमा बौद्ध धर्मगुरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल स्थित पेमाटासी छुल्ठिम घोम्बो कासुङका प्रमुख रिम्पोछे (गुरु) छुल्ठिम दोर्जे योन्तानलाई बलात्कार तथा यौन दुव्र्यवहार अभियोगमा व्यूरोले पक्राउ गरेको हो ।
स्थायी ठेगाना कुसेश्वर–९ सिन्धुली (दुम्जा)का टुल्कु लामा २०६७ सालदेखि उक्त गुम्बा सञ्चालन गरी आफूलाई बौद्ध धर्मगुरु (रिम्पोछे)को रूपमा चिनाउँदै आएका थिए । बौद्ध धर्मगुरु बलात्कार अभियोगमा नेपालबाट पक्राउ परेको यो पहिलो पटक हो । प्रहरीका अनुसार लामाले १० वर्षअघि निजी पहलमा गुम्बा निर्माण गरी आफूलाई वौद्ध धर्मगुरुका रूपमा चिनाउँदै आएका थिए ।
व्यूरोले लामाको गुम्बास्थित निवासबाट यौनवर्धक जटिबुटी लगायतका औषधी समेत बरामद गरेको छ ।
व्यूरोका निर्देशक डीआईजी पुस्कर कार्कीका अनुसार लामाले आफूलाई दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको अवतारी लामा रहेको र जुनसुकै रोग निको पारिदिने प्रलोभन देखाएर युवतीहरूलाई गुम्बामा बोलाउने गरेको पनि खुलेको छ । कार्कीले लामाबाट बरामद भएका औषधी प्रयोगशालामा परक्षिण गरेपछि मात्रै कस्तो प्रकारको हो भन्ने यकिन गरिने बताए । यो घटनापछि अन्य गुम्वाहरूमाथि पनि निगरानी राख्नुपर्ने अवस्था आएको कार्कीले बताए । देशभर सार्वजनिक र निजी गरी २ हजार ५ सय भन्दा बढी गुम्वा सञ्चालनमा रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
“आफू बौद्ध अवतारी बताएर लामाले युवतीलाई गुम्बामा ल्याउने, झारफुकका नाममा निर्वस्त्र बनाएर यौन शोषण गर्ने गरेको पाइयो,” डीआईजी कार्कीले भने, “त्यसक्रममा डेढ दर्जनभन्दा बढी युवती अभियुक्तको शोषणबाट पीडित भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।”
गुम्बामा आउने ९० प्रतिशत भन्दा बढी युवती रहेको पनि पाइएको छ । रोग निको हुने आश तथा प्रलोभनमा परेर २० देखि ४० वर्ष उमेर समूहका महिला तथा युवती गुम्बा आउने गरेको र पछि झारफूकको आवरणमा निर्वश्त्र बनाएर लामाले यौन दुर्यव्यवहार गर्न थालेपछि केहीले प्रहरीमा उजुरी दिएको पनि खुलेको छ ।
लामाले झारफूक गर्न आउनेलाई उपचारको नाममा एक्लै कोठामा लगेर जबर्जस्ती करणी गर्ने गरेको र कसैलाई खबर गरे पुनः रोग बल्झिन्छ र ठूलो मानवीय क्षति हुन्छ भन्दै धम्क्याएका थिए । आफ्नो सम्पर्कमा आएका युवतीहरूलाई अरुसँग विवाह गरेमा मत्यु समेत हुने भन्दै मानसिक यातनासमेत दिने गरेको व्यूरोले जनाएको छ ।
लामाबाट पीडित बनेका केहीले उजुरी दिएपछि केही सातायता व्यूरोले गुम्बामाथी निगरानी राख्दै आएको डीआइजी कार्कीले बताए ।
गुम्वा व्यवस्थापन समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले धार्मिक सम्पदाको आवरणमा अनैतिक गतिविधि हुनु दुःखद र आपत्तिजनक भएको बताए ।
पवित्र धार्मिक स्थलहरूमा यस्ता किसिमका गतिविधि हुन नदिन देशभरका गुम्वाको अनुगमन तथा निरीक्षणलाई चुस्त पारिने उनले बताए । अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरेर गुम्बाको अन्तरिक प्रशासनिक र त्यसका गतिविधिमाथि अनुगमन गरिने प्रतिवद्धता जनाए ।