आँखा उपचार केन्द्रको स्तरोन्नति गरिने

गोरखा सदरमुकामस्थित लायन्स आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरी लायन्स गोरखा आई सर्जिकल सेन्टरका रूपमा विकास गरिने भएको छ । आँखाको नियमित शल्यक्रिया सेवा दिने गरी आइकेयर फाउन्डेसन द नेदरल्यान्ड्सको आर्थिक सहयोगमा केन्द्रको स्तरोन्नति गर्न लागिएको हो ।
आइकेयर फाउन्डेसन, लायन्स क्लब आफु गोरखा र नेपाल नेत्रज्योति संघ गोरखाबीच यस विषयमा सम्झौता भइसकेको लायन्स आँखा उपचार केन्द्रका लेखा तथा प्रशासकीय अधिकृत विकास कुँवरले जानकारी दिए । अस्पतालको स्तरोन्नतिका लागि आइकेयर फाउन्डेसनले आउँदो तीन वर्षका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । उनले भने, “हरेक वर्ष चरणबद्ध रूपमा रकम खर्च गर्दै तेस्रो वर्षबाट आँखा अस्पतालको रूपमा सेवा दिने गरी पूर्वाधार थप गर्न लागिएको छ ।”
अहिले आँखा उपचार केन्द्रमा हिमालयन आँखा अस्पताल पोखराका विशेषज्ञले महिनाको एक पटक शिविर सञ्चालन गरी शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएका छन् । अब ढिलोमा आउँदो जेठ अन्तिम सातासम्ममा आँखाको नियमित शल्यक्रिया सेवा सुरु गर्ने तयारी भइरहेको प्रस्तावित लायन्स आँखा अस्पतालले जनाएको छ । त्यसका लागि आँखाका एकजना विशेषज्ञको नियुक्तिको प्रक्रिया पनि सुरु गरिएको प्रशासकीय अधिकृत कुँवरको भनाइ छ । अहिले अस्पतालमा वरिष्ठ नेत्र सहायकको नेतृत्वमा आँखा उपचार सेवा उपलब्ध हुँदै आएको छ ।
गोरखा अस्पताल परिसरमा रहेको आँखा उपचार केन्द्रबाट महिनामा करिब १५ सयले आँखा उपचार सेवा लिँदै आएका छन् । त्यसमध्ये करिब ५० जनाभन्दा बढी शल्यक्रिया गर्नुपर्ने बिरामी आउने गरेका छन् । अब जिल्लामै शल्यक्रिया लगायतका सेवा सञ्चालन हुने भएपछि जिल्लावासीलाई सजिलो हुने भएको छ । लायन्स क्लब आफु गोरखाले विभिन्न दातृ निकायको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालन गरेको हो ।