Logo

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन : शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानुन आवश्यक रहेको बताएका छन् । उनले भने, “म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानुन आवश्यक छ । त्यो कानुन ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ ।”
उनले अनुशासन कमिटि र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरू रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने, “हामी सबै खेलाडीहरूको गतिविधि नियाल्छौं । उनीहरूले कसलाई भेट्छन्, के गर्छन् त्यसको विषयमा पनि जानकारी लिन्छौं ।”
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार माअध्यक्ष शेर्पाले पछिल्लो समय फुटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं । यसका लागि विज्ञहरूसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं ।” एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाइ थियो ।
अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने, “त्यो सफ्टवेयर मार्फत नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत पनि हामी अघि बढ्छौं ।”
७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिने पनि उनले जनाए । उनले भने, “यी एकेडेमीहरू सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरू उत्पादन गर्न पनि हामीलाई सजिलो हुन्छ । यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ ।” उनले आफू एन्फाको नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरूलाई बाह्रै महिना खेल्ने वातावरण बनाउने पनि दाबी गरे । उनले साफ गेममा पनि नेपाललाई अब उपाधि जित्नसक्ने टिम बनाएरै छाड्ने उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्