वैकल्पिक विमानस्थल :आन्तरिक कि अन्तर्राष्ट्रिय ? «

वैकल्पिक विमानस्थल :आन्तरिक कि अन्तर्राष्ट्रिय ?

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक उडान चापका कारण अधिकांश जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था सामान्य भइसक्यो । नयाँ दिल्लीबाट सवा घण्टामा काठमाडौं आइपुग्ने जहाज अवतरणको समय नपाएर नेपाली आकाशमै अर्को एक घण्टा होल्डमा बस्नुपर्ने अवस्था नियमित उत्पन्न भइरहनु निश्चय नै विडम्बनापूर्ण अवस्था हो । यसले एयरलाइन्सहरूलाई उडान लागत बढाउने मात्र नभई यात्रुको महŒवपूर्ण समयसमेत त्यसै खेर गइरहेको छ । यससँगै हवाई सुरक्षाको जोखिम त झनै पेचिलो प्रश्नसमेत हो ।
विमानस्थलमा हवाई चाप बढ्नुमा विदेशी एयरलाइन्सको उडान संख्याभन्दा आन्तरिक वायुसेवा कम्पनीकै अत्यधिक उडान प्रमुख कारण हो । स्वदेशी आकाशमा सफलताको पर्याय बनिसकेका बुद्ध र यति एयर मात्र नभई नयाँ कम्पनीहरू सौर्य, श्री तथा रि–ब्रान्डिङ गरिएको समिटसँगै दुर्गममा उडान गर्ने तारा मात्र नभई राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलगायतका सबै वायुसेवा कम्पनीको एकमात्र आधार भनेकै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यसैले वार्षिक ७५ लाख यात्रुलाई सेवा दिने विमानस्थल अहिले पनि साँघुरो रनवे र कमजोर पूर्वाधारका बीच अघि बढिरहेको अवस्था छ । यसैले यसको विकल्प खोजिनुलाई स्वाभाविक र अनिवार्य आवश्यकताका रूपमा चित्रित गरिनु आवश्यक छ ।
त्रिभुवन विमानस्थलको चाप कम गर्न पछिल्लो समय आन्तरिक उडानका लागि काठमाडौंनजिकै अर्को विमानस्थलको खोजीसमेत भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले यसै साता छिमेकी जिल्ला काभ्रेका तीन स्थानमा दलबलसहित सभ्भाव्य स्थलको निरीक्षणसमेत गरिसकेको अवस्था छ । मुलुकमा बढ्दो हवाई चाप अब एक्लो त्रिभुवन विमानस्थलले थाम्न सक्दैन भन्ने निष्कर्षसहित मन्त्री स्वयं विकल्पको खोजीमा निस्कनुलाई सकारात्मक मानिए पनि मुलुकको आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यासलगायतका विभिन्न कारणले उनको यस सत्प्रयासमा खोट देखिएको छ । संसारभर आन्तरिक उडानका विमानस्थल सहरभित्र र अन्तर्राष्ट्रिय उडानका लागि सहरबाहिर विमानस्थल निर्माण गर्ने अभ्यासविपरीत मन्त्रीको काभ्रे दौडले गलत सन्देश प्रवाहित पार्ने देखिएको छ । आन्तरिक उडानका लागि काठमाडौंबाहिर विमानस्थल बनाएर यहाँबाट सबै उडान अर्को विमानस्थलमा स्थानान्तरण गर्ने सोच आफैंमा हास्यास्पदभन्दा अरू केही हुनै सक्दैन ।
मुलुकको आवश्यकता दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नै हो । निजगढमा प्रस्ताव गरिएको र प्रारम्भिक तहको अध्ययनसमेत पूरा गरिएको यो विमानस्थल निर्माणका लागि मन्त्री अधिकारीले केही प्रयास त अघि बढाएका छन्, तर त्यो पर्याप्त भने छैन । राज्यको सम्पूर्ण शक्ति र स्रोत लगाएरै भए पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन सके मात्र मन्त्रीको यो सत्प्रयास सार्थक हुन्छ । नत्र, काभ्रेका केही गाउँमा जग्गा दलालहरूलाई कमाउने अवसरभन्दा अन्य उपलब्धि हासिल हुने देखिँदैन । भैरहवा र पोखरा विमानस्थल निर्माणले त्रिभुवन विमानस्थलको चाप केही घटाउला, तर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प हुन सक्दैन । त्रिभुवन विमानस्थलको चाप घटाउन अहिले व्यवस्थापकीय कुशलता पनि जरुरी छ । जसरी भइरहेको विद्युत्बाटै कुलमान घिसिङले व्यवस्थापकीय कौशल देखाएर लोडसेडिङ अन्त्य गराए, ठीक त्यसैगरी उडान तालिका मिलाएर विमानस्थलको भद्रगोल व्यवस्थापन गर्न सकिने सम्भावनाहरू छन् । यसका लागि मन्त्रीको तत्परता र कुशल व्यवस्थापन छनोट जरुरी छ । यस्तै, छोटो दूरीका विमानस्थलसम्म पुग्ने स्थलमार्गको सुधारले पनि विमानस्थलको चाप घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्