एसडीजीमा शैक्षिक उपलब्धि निराशाजनक

सरकारले दिगो विकास लक्ष्य (एसडीजी) आधार शिक्षालाई मानेर सोहीअनुसार नयाँ कार्यक्रम र लगानी बढाए पनि शैक्षिक उपलब्धि भने निराशाजनक देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बिहीबार सार्वजनिक गरेको विद्यार्थी उपलब्धिको राट्रिय परीक्षणको नतिजाले शिक्षामा गरेको सरकारी लगानी खेर गइरहेको देखिएको छ । यसले एसडीजीको लक्ष्य प्राप्तिमा पनि चुनौती देखिएको छ ।
एसडीजीको लक्ष्य प्राप्तीका लागि सामुदायिक विद्यालयको सिकाइ उपलब्धिसुधार गर्नु अनिवार्य भएपनि पछिल्ला शैक्षिक उपलब्धि निराशाजनक देखिएका छन् । नेपालले विभिन्न सूचकांक सुधार गर्ने शर्तमा अन्तर्राष्ट्रिय विकास साझेदारसँग लिने ऋण सहयोग बर्सेनि बढाउदै लगे पनि सामुदायिक विद्यालयको सिकाइ उपलब्धि भने ३ वर्षमा बढाउन नसकिएको नतिजा सार्वजनिक भएको हो । सरकारले शैक्षिक सूचांक बृद्धि गर्न नसके एसडीजीको लक्ष्य मात्र होईन नतिजाका आधारमा पाउने अन्तराष्ट्रिय सहयोग समेट घटने देखिएको छ । सरकारले विकास साझेदारबाट वार्षिक औषत १० अर्ब रुपैया भन्दा बढी शिक्षा क्षेत्रका लागि ऋण तथा अनुदान सहयोग लिने गरेको छ ।
सामुदायिक विद्यालयको यस अघिको विद्यार्थीको राष्ट्रिय उपलब्धि परिक्षण (नासा) २०१३ मा विद्यार्थीले प्राप्त गरेका उपलब्धिको तुलना गर्दा मुख्य बिषय गणित र विज्ञानमा तत्कालको उपलब्धि केही न्युन रहेको अध्ययनले देखाएको छ । तर, नेपाली विषयमा यस वर्षको उपलब्धि केही उच्च रहेको देखिए पनि खासै भिन्नता भने छैन । त्यसैले विद्यार्थीको सिकाइ उपलब्धिमा विगतका वर्षहरूमाभन्दा सुधार भएको छ भन्ने कुनै प्रष्ट आधार नदेखिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सहसचिव डा. लेखनाथ पौडेलले बताए ।
“विद्यार्थीको वितरणको प्रतिशत हेर्दा गणित र विज्ञानमा उपलब्धि एकै प्रकारको प्रवृत्ति देखिएको छ,” सहसचिव पौडेलले अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै बिहीबार भने, “विद्यार्थीलाई उनीहरूको क्षमताका आधारमा ६ वटा स्तर विभाजन गर्दा गणितमा करिब ४६ प्रतिशत र विज्ञानमा करिब ५६ प्रतिशत ४ भन्दा तल रहेको छ ।” ५ लाई औषत मापदण्ड मानिएको भएपनि सामुदायिक विद्यालयका विद्यार्थीको नेपालीमा तह ४ भन्दा कम रहेका करिब ३२ प्रतिशत विद्यार्थीमात्र रहेकाले यसको नतिजा तुलनात्मक रुपमा राम्रो रहेको देखिन्छ ।
विभिन्न प्रदेशबीचको सिकाइ उपलब्धिमा उल्लेख्य भिन्नता देखिएको छ । प्रदेश ३ का विद्यार्थीको उपलब्धि सबै बिषयमा उच्च छ भने नेपालीमा प्रदेश २, गणितमा कर्णाली प्रदेश र विज्ञानमा प्रदेश १ का विद्यार्थीको उपलब्धि सबैभन्दा कमजोर रहेको छ । जातजाति तथा घरमा बोलिने भाषाको आधारमा हेर्दा सबै बिषयमा सिकाइ उपलब्धिमा उल्लेखनीय भिन्नता रहेको देखिन्छ । तर, छात्रा र छात्रको सन्दर्भमा गणित र विज्ञानमा छात्राको क्षमता केही उच्च रहेको पाइयो भने नेपालीमा खासै भिन्नता छैन । भौगोलिक पहिचानका आधारमा आफूलाई मधेसी भनेर उल्लेख गर्ने विद्यार्थीहरूको नेपाली र विज्ञान बिषयको सिकाइ उपलब्धि हिमाली र पहाडी भनी उल्लेख गर्नेको तुलनामा कमजोर देखिन्छ भने गणितमा उल्लेखय फरक छैन ।
विद्यार्थीको सामाजिक आर्थिक अवस्था र सिकाइ उपलब्धिबीचमा सकारात्मक सहसम्बन्ध रहेको पाइएको छ । केही अपवादबाहेक अधिंकाश सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरूको सामाजिक आर्थिक अवस्था उच्च रहेको छ । विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीहरूबाट हुने विभिन्न प्रकारका दुव्र्यवहारका कारणले नकारात्मक असर परेको देखिन्छ । पाठ्यपुस्तक प्राप्त नभएका विद्यार्थीको सिकाइ उपलब्धि न्युन भएको सो रिपोर्टमा उल्लेख छ । विद्यार्थीहरूमा शिक्षक र विद्यालयप्रति भएको सकारात्मक धारणले उनीहरूको सिकाइ उपलब्धिसँग सकारात्मक सहसम्बन्ध राखेको पाइएको छ । ठिक उमेरमा ठिक कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखिन्छ ।
सन् २०१७ मा देशभरबाट नमुना छनोटमा परेका २६ जिल्लाका १ हजार ९५० विद्यालयका ४६ हजार २ सय ६६ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान बिषयका लागि परीक्षण संचालन गरेको थियो । नेपाली विषयको परीक्षण ६४९ विद्यालयका १५ हजार ३६९ विद्यार्थीहरू, गणितमा ६४९ विद्यालयका १५ हजार ४८२ र विज्ञानका ६५२ विद्यालयका १५ हजार ४१५ विद्यार्थीहरूको उपलब्धि परीक्षण गरिएको थियो । सरकारले कक्षा ८ को यो वर्षको नतिजालाई आधारको रुपमा समेत लिएर भविष्यमा गरिने परीक्षणलाई यस नतिजासँग तुलना गर्न सकिने गरी औषत अंक ५०० र स्तरीयता ५० स्तरीयता विचलन ५० निश्चित गरी त्यसैको आधारमा नतिजा प्रस्तुत गरेको जनाएको छ ।