गाउँ–गाउँमा बीउ बैंक स्थापना

तेह्रथुम-तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको पौठाकमा एक सहकारीले लोपोन्मुख बीउहरूको बैंक स्थापना गरी सञ्चालन गरेको छ । पौठाक बचत तथा सहकारी संस्थाको व्यवस्थापनमा लोप हुन लागेका तरकारीको बीउ बैंक स्थापना गरी सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष तीर्थप्रसाद ढकालले बताए ।
बैंकमा स्थानीय रैथाने धनियाँ, फिलुङ्गे, रायोको साग, तोरी, बकुल्ला, सिलाम, सिमी, कोदो, मकै, धान, फर्सी, दाल, मास, थाङ्ग्रे सिमी, लसुन, प्याज, काउली, आलु, बेसार, फापर, काँक्रो, करेला, गोलभेंडालगायतका तरकारी, मसला र खाद्यावालीको बीउ ल्याएर राखिएको छ ।
त्यस्तै फेदाप गाउँपालिका ओयाक्जुङमा रहेको जलकल्याण सामुदायिक विकास बहुउद्देश्य सहकारी संस्थाले पनि बीउ बैंक सञ्चालनमा ल्याएको छ । संस्थाले १७ प्रजातिका लोपोन्मुख बीउ संंकलन गरी वितरण गर्दै आएको छ । पुराना रैथाने जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि छथर गाउँपालिका ओख्रेका महिलाले बीउ बैंक स्थापना गरेका छन् । रैथाने जातका यी बीउ जोगाउन महिलाले गाउँमै सामूहिक बीउ बैंक स्थापना गरेका हुन् ।
पछिल्लो समय कृषिवालीमा बढी उत्पादन दिने वर्णशंकर जातका बीउ भित्रिएपछि कृषि व्यवसायमा सक्रिय महिलाले बीउ बैंकमार्फत रैथाने बीउ जोगाउने अभियान थालेका हुन् । बीउ बैंकका लागि महिलाले कल्याणकारी महिला कृषक सहकारी संस्था नै गठन गरेका छन् । सहकारीमा गाउँका ४० महिला सहभागी छन् । सुख्खाग्रस्त यो गाउँमा अन्न, तरकारी र मसला वालीको बीउ जोगाउन बैंकको अवधारणा अघि सारिएको सहकारीका अध्यक्ष आइतु लिम्बुले बताइन् । उनीहरूको बीउ बैंकबाट वारीपारी गाउँका किसानले समेत बीउ खरिद गरेर लैजान थालेका छन् । बैंक स्थापनाका लागि एक्सनएड नेपालको सहयोगमा दलित सचेतना समाज नेपाल (ड्यास) ले तालिम नै लिएर सहयोग गरेको छ । वर्णशंकर जातका बीउका कारण स्थानीय रैथाने जातका बीउ लोप हुन लागेकाले संरक्षणमा जुटेको महिलाहरूको भनाइ छ ।
सहकारीमा आबद्ध नभएका गाउँका अन्य महिला किसानले समेत आफूले उत्पादन गरेको खाद्यान्न, तरकारी र मसला वालीको बीउ बैंकमा ल्याएर राख्न थालेका छन् । जसले गर्दा गाउँमा विउ भण्डारण थुप्रिएको छ । महिलाले पुराना माटोका भाँडा, घैंटो, प्लास्टिकका बट्टालगायतमा आ–आफ्नो बीउ सहकारीमा ल्याएर राखेका छन् । प्रत्येक महिला किसानले आफ्नो बीउ चिन्न सजिलो होस् भनेर छुट्टै भाँडा र लेवल लगाएर राखेको सहकारीका सचिव अनिसा मादेनले बताइन् । बैंकमा संकलन गरिएको बीउ बिक्री गर्न पनि थालिएको अध्यक्ष लिम्बुले बताइन् ।
महिलाले थालेको रैथाने बीउ जोगाउने अभियान जिल्लाकै उदाहरणीय काम भएकाले गाउँपालिकाले समेत सहयोग गरेको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । गाउँपालिकाले नीतिगत निर्णय गरेर अन्य वडाभित्रका गाउँमा समेत यस्तै अभियान सञ्चालन गर्न महिला किसानलाई प्रोत्साहित गर्ने कार्मक्रम ल्याएको अध्यक्ष लिम्बूले बताए ।
“सबै वडाका गाउँमा बीउ बैंक स्थापना गर्ने कार्यक्रम ल्याइएको छ,” अध्यक्ष लिम्बूले भने । बीउ बैंक स्थापना गर्दा खडेरी, आगलागी, महामारी, भोकमरी, प्राकृतिक प्रकोपलगायतका आपत विपतमा धेरै सजिलो हुने छथर गाउँपालिका कृषि शाखाका प्राविधिक अदिप श्रेष्ठले बताए । अन्य गाउँमा यस्ता प्रकोप भएर बीउ अभाव हुँदा त्यहाँबाट बीउ खरिद गरेर ल्याउन सजिलो हुने प्राविधिक श्रेष्ठको भनाइ छ । तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रे गाउँका महिला किसानले रैथाने बीउ संकलन गरेर राख्दै आएका छन् ।