वैदेशिक रोजगारी नै जीवनशैली बनिसकेको एक गाउँ «

वैदेशिक रोजगारी नै जीवनशैली बनिसकेको एक गाउँ

वैदेशिक रोजगारी लाखौं नेपालीको रहर नभइ बाध्यता बनिसकेको छ । स्वदेशमै रोजगारी नपाउँदा वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने सुन्दर सपना बोक्दै सयौं नेपाली एउटै गाउँबाट मलेसिया र खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुगेका छन् । आम युवाको अरब सपनाभित्र परिवारको सुख, सन्तानको शिक्षादीक्षा र सुन्दर भविश्यको सपना पनि जोडिएको छ । यसको एक प्रतिनिधि उदाहरण हो– दोलखाको माली ।
वैदेशिक रोजगारीमा जाने र गएर फर्केकाको अनुभव मिश्रित छ । “परिवारमा गरिबी र सानोतिनो रोजगार पनि नपाएर सानै उमेरमा कुबेत गएँ तर बिरामी भएर एक बर्वामै फर्कनुपर्यो । अब फेरि दुःख भोग्न जान्न,” जिरी नगरपालिका वडा नं ३ (साविकको माली गाविस) की कल्पना बराइली भन्छिन् । आईएलओअन्तर्गत काममा स्वतन्त्रता परियोजना टिमसँगको अन्तरक्रियाको लागि बसेका केही महिलाहरूले विदेशमा गएका महिलाहरू हराएका छन्, खोजि गरिदिनुपर्यो भनी अनुरोध पनि गरे । जब दोलखामा अन्तर्राष्ट्रिय श्रम संगठनको समन्वय र सहकार्यमा साविकको जिविस र पौरखी नेपालले सचेतीकरण कार्यक्रम सञ्चालन गर्यो, तब गुमनामको अवस्थामा रहेका घरेलु कामदारको लागि वैदेशिक रोजगारमा गएका महिलाहरू, पाएको दुःख र वेदनाको कहानी बाहिर देखिन थाले । सबै सरोकारवाला निकायहरूको चासोको विषय पनि हुन थाल्यो ।
साविकको ११ गाविस र २ नगरपालिकामा मात्र संचालित उक्त कार्यक्रमले केहि मात्रामा भए पनि जिल्लाभरी सचेतीकरण गरायो । दोलखा जिल्लाको उत्तर पूर्वी भागको जिरी नगरपालिकास्थित वडा नं. २ र ३ (साविकको माली गाविस) पर्या पर्यटन र सांस्कृतिक पर्यटनको लागि महत्वपूर्ण मानिएको उक्त गाउँबाट प्रायजसो सवै घरधुरीबाट कम्तिमा एक जना वैदेशिक रोजगारमा गएका छन् । उक्त गाउँमा शेर्पा जातिको बसोवास बाहुलियता छ । जिरीको ल्याण्डस्केपसंग मिल्दोजुल्दो र चेर्दुंगको रेन्जको माली माथिको डांडाको चौरमा चरिरहेका पशु पन्क्षिको दृश्य लोभलाग्दो छ । पशुपालन र आलु उत्पादनको अनुकुल स्थान भएको उक्त भूगोललाई यलुंग खोलाले दुइ भागमा बिभाजन गरेको छ । यस गाउँमा सानै उमेरमा अनमेल विवाह, आर्थिक अभावले श्रीमान श्रीमतीको झगडा र अरुको देखासेखी कारण प्रायजसो महिलाहरू वैदेशिक रोजगारको लागि खाडी मुलुकहरूमा गएका छन् । जिरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नोर्वु शेर्पाको अनुसार वैदेशिक रोजगारबाट फर्केकामध्ये लगभग ३० प्रतिशतको जीवनस्तर सुधार छ भने बाँकी ७० प्रतिशतको जीवनस्तर यथास्थितिमै रहेको छ ।
प्रायजसो शेर्पाहरू अमेरिका, अस्ट्रेलिया र युरोप गएका छन् र धनि पनि छन् । जिरी नगरपालिका वडा नं. ३ का अध्यक्ष नोर्बु शेर्पाको वरिपरी बसेका र वैदेशिक रोजगारबाट फर्केर आएका महिलाहरूसंग कुरा जब शुरु गरियो, कुरा सुन्ने वित्तिकै वडा नं. ३ स्थित माली निवासी फुरोलुभु शेर्पा भन्न थालिन–धनिहरू गए होलान त्यँहा, हामी त गरिब शेर्पा परिवार, विहान वेलुका खान नपुग्ने अनि घर बनाएको दश हजार ऋण पनि तिर्न नसकेर घरेलु कामदारको रुपमा दश बर्ष अघि कुबेत गएँ । पहिला पठाउने मान्छेले महिनाको पन्द्र हजार दिन्छ भन्यो तर पछी दश हजार मात्र दियो ।
मालिकको घरमा दुइ बर्ष काम गरेर घर खर्च र लागेको ऋण तिरे तथा फर्कदा जम्मा ३० हजार मात्र लिएर आएँ र हाल एकल महिलाको भत्ताले जीवन गुजारेको छु । पुन विदेश जान मन लाग्दैन ? भन्दा उनले भनिन्–बुढाको मृत्युपछी जान मन लागेको छैन, २४ बर्षकी छोरी एस एल सी पास गरेर धेरै गर्मि हुने ठाउं दुवै गएकी छे र दिनमा १५ घन्टा काम गर्नु पर्छ, निदाउन पाइदैन आमा भनेर फोन गर्छे पिर लाग्छ के गर्नु हामि गरिबको दुख त पैत्रिक सम्पति नै भइ सक्यो ।
जिरी ३ कै २७ बर्षिय डाटी शेर्पाको भनाइ पनि त्यस्तै छ– म ३ महिना दुबइ र ७ महिना कुबेत बसेर आएँ । जम्मा एक लाख पचास हजार कमाएछु र सुरुको ३ महिना त बिरामी भएँ । बिदेशमा काम गर्दा विहान ७ बजे देखि बेलुका १२ बजे सम्म खट्नु पर्ने, आफ्नो मान्छे भेट्न पनि नपाउने । सामाजिक परिचालक सिलु खत्रीतिर हेर्दै भनिन–अहिले उहाँहरूले संचालन गरेको तालिममा कहिले काँही आफ्नो अनुभव बताउछु ।
जिरी २ कि डोल्मा शेर्पाको भोगाई अलि फरक छ–बुबा आमाले १५ बर्षको उमेरमा १२ बर्षको केटासंग बिबाह गरिदिएर घर बस्न मन लागेन र इजराइल गएँ, ७ बर्ष इजराइलमा कियर टेकरमा काम गरें र पैसा राम्रै कमाएर काठमान्डौमा जग्गा किनेको छु । बुढोसंग छुट्टिएर अहिले आमाको घरमै बसेको छु र बुढो पनि साउदी अरब गएको छ भन्ने सुनेको छु ।
जिरी २ कै नरमाय बिक धेरै दिदीबहिनी र गरिबीको कारण घरेलु कामदारको लागि कुबेत गएकी रहेछिन । पैतालिस हजार खर्च गरेर कुबेतमा चार बर्ष बसेर कमाएको रकम घर खर्च गरेर बचेको केहि रकम ऋणमा लगाएको रहिछिन । पौरखी नेपालले संचालन गरेको कुखुरा पालन तालिम लिएकी उनलाई अब गाउँमै बसेर केहि आय आर्जन गर्न मन लागेको छ ।
जिरी २ कै पासङजामु शेर्पा १७ बर्षको उमेरमा कुबेत पुगेकी हुन् । कुबेतमा साढे चार बर्ष बुढाबुढीको स्यार गरेर बसे र कमाएर ल्याएको पैसाले लिंकन बजारमा होटेल गरेको छु । उनले पनि बुढोलाई दुवै पठाएकी छिन । कहिले काँही पौरखीले संचालन गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरूसँग आफ्नो अनुभव बताउने गर्छिन ।
बुबा साउदी अरब भएकोले जिरी २ कि फुलमाया तामांग १९ बर्षको उमेरमा विदेश जान मन लाग्यो र ३० हजार खर्च गरेर घरेलु कामदारको रुपमा लेबनान गईन । सुरुमा भाषाको समस्या भयो । मासिक पन्ध्र हजारमा चार बर्ष लेबनानमा काम गरेर स्वदेश आएकी फूलमायाँ पुन घरेलु कामदारको रुपमा चाहि जान चाहन्नन् किनकि कुनै घरमा मालिक मालिक्नीको पशुको व्यबहार गरेको सुनेकी रहिछिन सथिहरूबाट । बुढा हाल मकाउ गएका छन् ।
बैदेशिक रोजगारमा अभ्यस्त भइ सकेका माली गाउँ, सवैको साझा बोलि छ–कति साथीहरू घरको ऋण र विदेशको दुखले पागल जस्तो भइ सडकमा भौतारिन्छन भन्ने पनि सुनिन्छ । हामि गरिब दुखि भएर नै विदेश गएको तर जहाँ गए पनि हाम्रो दुख पैत्रिक सम्पति नै रहेछ । तालिम लिएर, भाषा सिकेर र सवै कुरा बुझेर गए देखि अलि सहज हुन्थ्यो कि भन्ने पनि लाग्छ ।

बैदेशिक रोजगारमा किन जान चाहन्छन ? तत्काल के असर देखिएको छ ?
जिरी नगरपालिका वडा नं. ३ क वडा अध्यक्ष नोर्बु शेर्पा र सामाजिक परिचालक सिलु खत्रीको भनाइमा विदेश गएका कुल घरधुरीमध्य दश प्रतिशत जापान, कोरिया लगायत विकसित मुलुकहरूमा र बाँकी नब्बे प्रतिशत खाडी मुलुकतिर गएका छन् । दश बर्ष अघि सम्म याँहा अनमेल विवाह चलिरहेको थियो । समाज वरिपरिका विदेश गएको देखेर, रोजगारी नपाएर र केहि गर्नु पर्दछ भन्ने भावनाले बुढा बाउ आमा, छोरा छोरी र श्रीमान श्रीमती छोडेर वैदेशिक रोजगारमा हानिएका छन् यस गाउँका श्रम शक्ति । वैदेशिक रोजगारको लागि विदेशिनुको मुख्य कारण समाज वरिपरिको देखासेखी, वेरोजगार, गरिबी र घरेलु हिंसा देखिन्छ ।
तत्कालिन असरको वारेमा वडा अध्यक्ष नोर्बु शेर्पा वताउछन–बैदेशिक रोजगारले गाउँलेको जीवनमा केहि आर्थिक, सामजिक गतिशिलता ल्याएको छ तर श्रीमान विदेश जाने बित्तिकै श्रीमतीहरू तत्काल नजिकको लिंकन बजार, चरिकोट र काठमाण्डौं सम्म पनि स्थान्तरण भइ शहरमुखी भएर गाउँ नै सुन्सान पार्छन । श्रीमतीले विदेशबाट पठाएको पैसालाई पनि श्रीमानले सदुपयोग गर्दैनन् । समाजमा केहि बिकृति र विसंगति पनि भित्रिएको देखिन्छ । सामाजिक परिचालक सिलु खत्री तर्फ हेर्दै हास्दै भने –बहिनीहरूले पहिला गरेको अभिमुखीकरण कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारलाई टेवा पुराएकै छ, अव त श्रीमान र श्रीमती जो गाउँमा बसे पनि तत्काल मनोपरामर्ष सम्बन्धी तालिम पनि दिनु पर्ने देखिन्छ ।
स्थानीय सरकार र अन्य सरोकारवालाको भूमिका
नेपालको संबिधान २०७२ को अनुसूची–८ मा स्थानीय तहको २२ वटा एकल अधिकार सूची उल्लेख गरिएको छ । संबैधानिक अधिकार अन्तर्गत नेपाल सरकारले स्थानीय सरकार संचालन ऐन २०७४, निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनमा गाउँ÷नगरपालिकाले गर्नु पर्ने काम कर्तव्यमा वाल विवाह, महिला बिरुद्धको हिंसा, मानब बेचबिखन, निरक्षर जस्ता सामाजिक कुरीति अन्त्य गर्ने गराउने र रोजगार तथा बेरोजगारको तथ्यांक संकलन, प्रसोधन र सूचना प्रणालीको स्थापना गर्नु पर्ने उल्लेख गरिएको छ । साथै स्थानीय सरकारले आवश्यकता अनुसार आफ्नो कानुन, नियमावली निर्माण गरि विकास र सेवाप्रवाह अगाडी बढाउन सक्ने संबैधानिक व्यवस्था भएकोले कानुन, ऐन र नीति बनाई श्रमिक बेचबिखन नियन्त्रण, सचेतीकरण कार्यक्रम, सकारात्मक सोच सहितको मनोपरामर्ष, आय आर्जन मार्फत रोजगारी सिर्जना गर्न जरुरी देखिन्छ । जिरी नगरपालिकाको नीति निर्माण र योजना तर्जुमामा नेतृत्वदायी भूमिका खेल्नु भएकी उपमेयर कृष्ण कुमारी बुढाथोकीको भनाइ अनुसार यी समस्याहरूलाई मध्यनजर गर्दै जिरी नगरपालिकाले महिलाहरूको आयआर्जनको लागि समुह बनाएर प्रति वडामा कृषिको लागि दश लाख र पशु पालनको लागि पाँच लाख रुपौंया बिउं पुजिंको रुपमा बिनियोजन गरि कार्यक्रम आगाडी बढाएइको रहेछ छ । यहाँको मुख्य उत्पादन आलु भएको र बर्षाको समयमा सडकको असुविधा, कोल्डस्टोर अभावको कारण उत्पादित आलु खेर गएर किसानहरूलाई निरास बनाउने गरेको छ । अन्य सरकारी तथा गैर सरकारी निकायहरूले पनि सवै सरोकारवालाहरूको समन्वय र सहकार्यमा अभिमुखीकरण तथा नगदे बालि आलु उत्पादनको प्रबर्धन, पशुपालन, जडिबुटी र पर्यटन विकास जस्ता आय आर्जनको कार्यक्रम संगसंगै संचालन गर्दा स्वदेशको श्रम स्वदेशमै लगाई गरिबी निवारण, विकास गरी समृददीमा टेवा पुग्नेछ ।

 –बिक्रम कार्की

प्रतिक्रिया दिनुहोस्