बैंकको रकम चोर्ने ह्याकर खोज्न इन्टरपोलमा पत्राचार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय ह्याकरबाट चोरी भएको एनआईसी एसिया बैंकको रकम फिर्ता गर्न र संलग्न गिरोह पत्ता लगाउन इन्टरपोल मुख्यालयलाई पत्राचार गरेको छ ।
एनआईसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याक गरी अन्तर्राष्ट्रिय गिरोहले करिव ३४ करोड रुपैयाँ चोरी गरेपछि ब्यूरोले केही दिनअघि इन्टरपोललाई पत्राचार गरी चोरिएको रकम फिर्ता, ह्याकरको पहिचान र रकम लिने व्यक्ति पक्राउ गरिदिन अनुरोध गरेको हो । ब्युरो प्रमुख डीआईजी पुष्कर कार्कीले एनआईसी एसिया बैंकको रकम चोरी सम्बन्धमा अनुसन्धान गरी दिन सम्बन्धित पक्षको लिखित आग्रहपछि इन्टपोलमा परिपत्र गरिएको बताए ।
कात्तिक पहिलो साता एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याक गरी विभिन्न मुलुकका बैंकमार्फत ३३ करोड ६९ लाख ३७ हजार ८५० रुपैयाँ चोरी भएको थियो । त्यसमध्ये बैंकले आफ्नो संयन्त्र र भुक्तानी दिइएका विदेशी बैंकको सहयोगमा करिव २७ करोड २९ लाख रुपैयाँ फिर्ता गरिसकेको छ । बाँकी करिब ६ करोड ४० लाख रुपैयाँ फिर्ताका लागि ब्युरो र विदेशस्थित भुक्तानी दिने बैंकको सहयोग आवश्यक रहेको बैंकले जनाएको छ ।
“चोरी भएको बाँकी रकम फिर्ता, संलग्न ह्याकरको पहिचान र रकम भुक्तानी लिने व्यक्ति पक्राउका लागि हामीले इन्टपोल मुख्यालयलाई पत्राचार गरिसकेका छौं,” डीआईजी कार्कीले भने, “यससम्बन्धी हाम्रा आन्तरिक संयन्त्रले पनि अनुसन्धान गरिरहेका छन् ।” ब्युरोले अन्तर्राष्ट्रिय ह्याकरहरूसँग मिलेमतोको आशंकामा बैंकका आईटी इन्जिनियरलगायत उच्च अधिकारीसँग पनि सोधपुछ गरेको छ । “ह्याकरसँग मिलेमतोको आशंकामा बैंकका कर्मचारीमाथी समेत हामीले निगरानी राखेर अनुसन्धान गरिरहेका छौं,” डीआईजी कार्कीले भने, “आवश्यक परे बोलाएरै बयान प्रक्रिया अघि बढाउँछौं ।” बैंकले पनि प्रहरीलाई सघाउनु आफ्नो कर्तव्य तथा दायित्व दुवै रहेको जनाएको छ ।
ह्याकरले बैंकको रकम बैंक अफ टोकियो–मित्सुविसी जापान, स्टान्डर्ड चार्टर्ड बैंक सिंगापुर, कमर्ज बैंक फ्राङ्फर्ट जर्मनी, म्यास्रेक बैंक न्युयोर्क, स्टान्डर्ड चार्टर्ड बैंक लण्डन, स्टाण्डर्ड चार्टर्ड बैंक जापान, आईसीआईसीआई बैंक हङकङ गरी ७ बैंकमा रहेको नोस्ट्रो अकाउन्टबाट स्वीफ्ट म्यासेज मार्फत ४६ करोड ५६ लाख ५० हजार ५०५ बराबरको ३१ वटा अनधिकृत कारोबार प्रयास गरेका थिए ।
उक्त ३१ कारोबारमध्ये १२ करोड ८७ लाख १२ हजार ६ सय ५५ रुपैयाँ बराबरको ९ वटा अनधिकृत कारोबार एनआईसी एसिया बैंकको स्वीफ्ट स्याङ्सन स्कृनिङ सिस्टमले अस्वीकृत गरी स्वीफ्ट पेमेन्ट म्यासेजहरू फरवार्ड नभएको र बाँकी ३३ करोड ६९ लाख ३७ हजार ८५० रुपैयाँबराबरको २२ वटा स्वीफ्ट पेमेन्ट म्यासेजहरू अनधिकृत रूपमा फरवार्ड भई रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ ।
ब्युरो र बैंकका अधिकारीले दिएको जानकारीअनुसार ह्याकरले बैंक अफ टोकियो जापानबाट ६ पटक, कमर्ज बैंक जर्मनीबाट २ पटक, टर्कीका २ बैंक कुभेत टर्क क्याटलिम र टर्की भाकिफ्लार बेङ्कासी, स्टान्डर्ड चार्टर्ड बैंक मलेसिया, हाङसाङ बैंक लिमिटेड हङकङ, एग्रिकल्चरल बैंक अफ चाइना, बैंक अफ इस्ट एसिया चाइना, एलएलओवाइडीएस बैंक पीएलसी लन्डन, मीजुहो बैंक जापान, मलायन बैंक सिंगापुर, स्टाण्डर्ड चार्टर्ड बैंक सिंगापुर, बैंक अफ अमेरिका र पीएनसी बैंक पिटर्सवर्ग अमेरिकाबाट अनधिकृत भुक्तानी लिएको पत्ता लागेको छ ।
भुक्तानी लिने व्यक्तिको खाता र हुलिया पहिचान भइसकेको ब्यूरोले जनाएको छ । भुक्तानी लिने व्यक्ति र उसले प्रयोग गरेका बैंक खाता नम्बरसहित इन्टरपोललाई विस्तृत विवरण पठाइएको ब्यूरोले जनाएको छ । ह्याकरले ३१ वटा पेमेन्ट अर्डर गरेकोमा ९ वटा पेमेन्ट रोक्न बैंक सफल भएको थियो । बाँकी २२ वटा पेमेन्ट अर्डर समयमै सूचना नपाउँदा रोक्न नसकिएको बैंकले जनाएको छ ।