विद्युतीय सवारी साधनलाई प्राथमिकता

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा अहिले धूलो, धूवाँ र प्रदूषणको तह प्रदूषक मापक यन्त्रले देखाउने सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसको अर्थ के हो भने वायु प्रदूषणले नयाँ दिल्लीलाई पूर्ण रूपमा प्रभावित तुल्याएको छ । उत्तरी छिमकी मुलुक चीनको बेइजिङ पनि सर्वाधिक प्रदूषित सहरहरूको सूचीमा पर्छ । अर्कातिर ‘पोलुसन इन्डेक्स’अनुसार काठमाडौं पनि विश्वका प्रदूषित सहरहरूमध्ये पाँचौं स्थानमा पर्छ । देशभरि अहिले दर्ता भएका सवारी साधनको संख्या झन्डै २९ लाख पुगिसकेको छ । दर्ता भएकामध्ये झन्डै ५ लाख सवारी साधन बिग्रेका, दुर्घटनामा परेका र अन्य विविध कारणले नगुड्ने अनुमान गर्दा पनि दैनिक २४ लाख सवारी साधन नेपालका सडकमा गुड्छन् । यीमध्ये १२ देखि १५ लाख सवारी साधन काठमाडौंको सडकमा मात्र गुड्छन् भन्ने ट्राफिक प्रहरीको अनुमान छ । आव ०७३÷७४ को अन्त्यसम्म मात्र बाग्मतीमा १० लाख ४२ हजार सवारी साधन दर्ता भइसकेका थिए । बाग्मतीमा मात्र वार्षिक औसत १ लाख सवारी साधन दर्ता हुने गरेका छन् । अन्य अञ्चलमा दर्ता भई यहाँ गुड्ने समेत सवारी साधनको गणना गर्दा उपत्यकाभित्र गुड्ने सवारी साधनको संख्या अनुमानभन्दा पनि बढी हुन सक्छ । नेपालमा गुड्ने ९९ प्रतिशत सवारी साधन या त डिजेलबाट चल्छन् अथवा पेट्रोलबाट । वर्षौंदेखि २० वर्षे सवारी साधनलाई सडकबाट झिक्ने प्रसंग चल्दै आए पनि त्यस्ता थोत्रा सवारी साधनहरू अझै सडकमा गुडी नै रहेका छन् ।
समयमा मर्मत–सम्भार नगर्ने, मिसावटयुक्त पेट्रोलियम पदार्थको प्रयोग र बाटोघाटोको खराब अवस्थाका कारण सवारी साधनहरू २० वर्ष नै नपुगी पनि थोत्रिन पुग्छन् । सडकमा गुडिरहेका गाडीहरूको पछिपछि एकपटक रिङरोड घुम्ने हो भने धूलोको पक्षलाई अलग्गै राख्दा पनि त्यसरी पछाडि घुम्ने व्यक्ति साँझ फर्कंदा चिन्नै नसकिने अवस्थामा आइपुग्छ । काठमाडौं उपत्यकाको कचौराजस्तो भौगोलिक अवस्थाका कारण यहाँको वायु प्रदूषणका बारेमा अहिले नै कुनै ठोस निर्णय लिन सकिएन भने दिल्लीको भन्दा खराब हुनसक्छ । मेलम्ची खानेपानी आयोजनाका लागि खनिएका सडकहरू अझैसम्म नपुरिएको, मर्मत नगरिएको र सवारी साधनको अत्यधिक चापका कारण काठमाडौं उपत्यकाको भित्री सहरी क्षेत्र (कोर–सिटी)मा अहिले नै प्रदूषणको स्तर अत्यधिक धेरै रहेको एक गैर सरकारी संस्थाले गरेको प्रदूषण मापनबाट देखिएको छ ।
सडकबाट धूलो हटाउन प्रयोग गरिने ब्रुमर अस्थायी समाधान मात्र हो । उपत्यकामा बढ्दो वायु प्रदूषणबाट किन पनि चिन्तित हुनुपर्ने अवस्था छ भने सडक विस्तार र अन्य कारणहरू जनाउँदै विगतमा सडकका दुवै किनारामा रोपिएका लहरे पीपल, शिरीषको फूल भनिने चिनिने जारकन्डालगायतका विभिन्न किसिमका रूखबिरुवाहरू काटिए । त्यसका विकल्पमा रूखविरुवा लगाउने काम हुनै सकेन भने अर्कातिर बढ्दो जग्गाको मागसँगै उपत्यकामा भएका खाली स्थान र ती स्थानमा रहेका हरिया बोटबिरुवा पनि मासिने क्रम बढेको छ । रूखबिरुवा मासिनुको अर्थ हो— कार्बनडाइअक्साइड ग्रहण गर्ने प्राकृतिक फिल्टरको समाप्ति । काठमाडौं उपत्यकालगायतत देशका अन्य सहरी क्षेत्रहरूमा प्रदूषणको स्तर कम गर्ने हो भने हरियाली जोगाउनु, बढाउनुका साथै प्रदूषणरहित विद्युतीय सवारी साधनको प्रयोग बढाउनैपर्छ । विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनमा २ सय प्रतिशतभन्दा बढी कर असुल्ने नीतिले मात्र पुग्दैन, विद्युतीय सवारी साधनमा विशेष कर सहुलियत प्रदान गर्नैपर्छ ।