गुणस्तरको मापदण्ड पूरा नभएका मास्क बजारमा

पोखरा-गुणस्तरको मापदण्ड पूरा नभएका धेरै प्रकारका मास्क बजारमा हिजोआज बिक्री भएको पाइएको छ । स्वास्थ्य मापदण्ड पूरा नगरी बजारमा यसरी विभिन्न प्रकारका मास्क आएसँगै जनताले उचित रकम तिरेर पनि गुणस्तरको मापदण्ड पूरा नभएका मास्कको प्रयोग गर्न बाध्य भएको चिकित्सकहरु बताउँछन् ।
हाल बजारमा उपलब्ध हुने मास्कको गुणस्तर निकै खस्केको फिजिसियन डा. सरोज पोख्रेलले दाबी गरे । उनले भने, “आवश्यक मापदण्ड पनि पूरा नगरी बजारमा विभिन्न प्रकारका मास्कको बिक्रीवितरण भएको छ । सकभर एन ९५ मास्क प्रयोग गर्ने, त्यो पनि उपलब्ध नभएको खण्डमा सर्जिकल मास्क, त्यसको विकल्पमा अन्य कपडाकै मास्क भए पनि लगाउनुपर्छ । हामीले प्रयोग गर्ने मास्क भनेको बजारमा उपलब्ध हुने साधारण मास्क नै हो । सर्जिकल मास्कले हामीलाई वातावरणको धुवाँ, धुलो प्रदूषण र सामान्य इन्फेक्सनबाट समेत बचाउँछ ।”
बजारमा उपलब्ध भएका मास्कको अनुगमन सहित गुणस्तरीय मास्क उपलब्ध गराउनु पर्ने पोखराको लेकसाइडमा रहेको सिविक हस्पिटलका डा. पोख्रेलले माग गरे । कोरोनाको संक्रमण बढ्दै गएकोले बजारमा आएका मास्कको विषयमा राम्रोसँग अनुगमन गर्न नभ्याएको कास्कीका जिल्ला जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए ।
आम उपभोक्ताबाट समेत यस विषयमा हालसम्म कुनै गुनासो नआएकोले यसप्रति आफूूहरुको कुनै ध्यान नपुगेको उनले जनाए । उनका अनुसार कास्कीमा हालसम्म एक सय ९९ जना कोरोना संक्रमितका बिरामी भेटिएका छन् ।
पोखरामा ३ सहित गण्डकी प्रदेशमा शनिबार १० जनामा कोरोना संक्रमण देखा परेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणलाई न्यूनिकरण गर्न प्रयोग गरिने मास्क उचित ढंगले प्रयोग गर्न चिकित्सकहरुले सल्लाह दिँदै आएका छन् । पोखरा क्षेत्रमा स्वास्थ्यकर्मीहरु नै कोरोनाको उच्च जोखिममा भएको छाती रोग विषेशज्ञ डा सिटि आचार्यले बताए ।
कोरोनालाई हल्का रुपमा लिएर आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्न नसकेको हुँदा पोखरा क्षेत्रमा पनि सामुदायिक स्तरमा कोरोनाको संक्रमण फैलिदै गएको उनले दाबी गरे । सामान्यतया सर्जिकल मास्क (फिल्टर सहित तीन पत्रे) मास्कको मूल्य बजारमा प्रति मास्क १५ देखि २० रुपैया लिने गरेका छन् भने विना फिल्टर भएका सर्जिकल भनिएका त्यस्ता मास्क १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
एन ९५ तथा केएन ९५ मास्कको मूल्य भने ७५ रुपैयाँसम्म पर्छ । आवश्यक मापदण्ड पूरा भएको एन ९५ तथा केएन ९५ मास्कको मूल्य २-३ सयसम्म पर्ने भएको व्यवसायीहरुले बताएका छन् । बजारमा पाइने अधिकांश मास्कको मूल्य कति भनेर भन्दा पनि बजारको माग अनुसार मूल्य निर्धारण गर्ने गरेको व्यवसायीहरुले बताए ।