सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु «

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु

राजविराज-सप्तरीमा मंगलबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ का ७५ वर्षीय बेचुलाल साहको मंगलबार राति आइसोलेसन कक्ष ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
चार दिनअघि मुटुसम्बन्धी समस्याका कारण जचाउन गजेन्द्र नारायण सिंह अस्पताल आएका उनलाई चिकित्सकले कोरोना संक्रमणको पनि आशंका गरेर स्वाब संकलन गराई सुरक्षित रुपमा घरमै बस्न सल्लाह दिई पठाएका थिए ।
राजविराज–६ सिरहा रोडस्थित घरसमेत रहेको साहलाई मंगलबार साँझ कोरोना संक्रमणको पुष्टि भएको रिपोर्ट आएलगत्तै घरबाट लिन तत्कालै अस्पतालले एम्बुलेन्स पठाइएको थियो । उनलाई राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसनमा राख्नका लागि एम्बुलेन्समा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।
यता बुधबार बिहान मृतक साहको राजविराज–६ स्थित घर सिल गरिएको छ भने परिवारका सबै सदस्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यसअघि असार ३१ गते राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण दास तथा साउन २१ गते रुपनी गाउँपालिका ५ का ४५ वर्षीय बिन्देश्वर साहको कोरोना कै कारण मृत्यु भएको थियो ।
बुधबारसम्ममा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

एमके यादव

प्रतिक्रिया दिनुहोस्