काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड पालना भएन

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको बेला जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रूपमा पालना नभएको तत्थाङ्क सार्वजनिक भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रूपमा पालना नभएको देखिएको हो । परिषद्का ३९ जनाको टोलीले दुई दिनसम्म लगाएर काठमाडौं उपत्यकाको तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय, सार्वजनिक यातायात, मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरूमा अवलोकन विधिबाट अध्ययन गरेको थियो ।
अध्ययनअनुसार ४ हजार ५०२ जनामा अध्ययन गर्दा २७.१ प्रतिशतले मास्क नै नलागएको भेटिएको छ । मास्क लगाउनेमध्ये कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत रहेको छ । मास्क लगाउने २ हजार ७ सय ३ जनामध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६ प्रतिशत रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ प्रतिशत पाइएको बताए ।
अध्ययनले तरकारी बजार, बैंक, मालपोत, मठमन्दिर, होटलको अनुगमन गर्दा कमै स्थानमा मात्र भौतिक दुरी अर्थात २ मिटरको मार्किङ गरिएको पाइएको छ । मार्किङ गरिएका स्थानहरूमा समेत ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दूरी कायम भएको भेटिएको छ । साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतले प्रयोगमा ल्याएका छन् । निजी र सरकारी अस्पतालहरूमा ओपीडी, फार्मेसी र किटक काउन्टरमा भौतिक दुरीका लागि मार्किङ गरिएको भेटिए पनि कुनै पनि अस्पतालको चमेना गृहमा मार्किङ नगरिएका परिषद्का सदस्य सचिव ज्ञवालीले बताए । उनले २० प्रतिशत अस्पतालमा मात्र भौतिक दूरी कायम भएको पनि जानकारी दिए । यस्तै ३० वटा सार्वजनिक यातायातको अनुगमन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एक पंक्तिको एक सिटमा यात्रु बस्ने लगायतका मापदण्ड पालना भएको पाइएको पनि परिषद्का सदस्य सचिव ज्ञवालीले बताए ।