Logo

स्तनपान कक्ष स्थापना ऐनमै सीमित

सिन्धुली-सार्वजनिक तथा निजी संघसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर सिन्धुलीका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयमा यसको व्यवस्था छैन ।
कार्यालयमा कार्यरत महिला कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीलाई बच्चालाई स्तनपान गराउन सहज होस् भनेर कार्यालमै कक्षको स्थापना गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाका अधिकांश कार्यालयमा यसको अभ्यास भएको पाइँदैन । जिल्लाका एकादुई सरकारी कार्यालयबाहेक स्थानीय तहकै कार्यालयले पनि स्तनपान तथा शिशु स्याहार कक्षको व्यवस्थापनतर्फ ध्यान दिएका छैनन् । स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष निर्माण नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।
कमलामाई नगरपालिकाकी महिला शाखा प्रमुख इन्दिरा थापाले सार्वजनिक निकायमा स्तनपान कक्ष नहुँदा समस्या भएको बताइन् । स्तनपान कक्ष नहुँदा कर्मचारी तथा सेवाग्राही सबैले असहज महसुस गर्नुपरेको उनको भनाइ छ । “बच्चालाई दूध खुवाउनै प-यो, कार्यालयमै ल्याउन भन्दा पनि नसकिने ।” उनले भनिन्, “नजिक छ भने बीचमा घर जाने हो की, परिवारलाई ल्याउन लगाउने हो । टाढा घर भएकाले दिनभरि नै बच्चालाई दूध खुवाउन पाँउदैनन् ।”
कार्यालयहरूमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष व्यवस्था गर्दा मात्रै पनि शिशुहरूले आमाको दूधबाट वञ्चित हुनुपर्ने अवस्था नहुने उनले बताइन् । साथै स्तनपानलाई संरक्षण र संवद्र्धन गर्न जिल्लाका सबै स्थानीय तहले शिशु स्याहार कक्षको स्थापना गर्नुपर्नेमा उनले जोड दिइन् ।
यता जिल्लाको दुईवटा सरकारी कार्यालयले भने गत वर्षदेखि नै स्तनपान कक्ष सञ्चालनमा ल्याएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले गत सालबाटै कार्यालयमा स्तनपान कक्षको व्यवस्था गरेका हुन् । भाडाको घरबाट सेवा प्रवाह गरिरहेको जिल्ला प्रशासन कार्यालय आफ्नै नयाँ भवनमा सरेसँगै स्तनपान कक्ष पनि सञ्चालन गरेको हो । जिल्ला प्रशासन कार्यालयले बच्चा लिएर आउने आमालाई सहज होस् भनेर स्तनपान कक्षको स्थापना गरिएको जनाएको छ ।
सेवा प्रवाह गर्ने संस्थाहरू सेवाग्राहीमैत्री हुनुपर्ने नेपाल सरकारको नीति नै भएकाले सोहीअनुसार बच्चा लिएर आउने सेवाग्राही आमाका समस्यालाई मध्यनजर गरेर स्तनपान कक्षको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बच्चालाई दूध खुवाउँदा खुवाउँदै बच्चा निदाइरहेको हुने र आमाहरूलाई भने निदाएको बच्चा बोकेर सेवा लिन गाह्रो भएको देखिएकाले पनि स्तनपान कक्ष स्थापना गरिएको हो ।
यो कक्षमा कहिलेकाही नसक्ने अवस्थाका बिरामी र जेष्ठ नागरिक सेवाग्राहीले पनि आराम गर्ने गरेका छन् । कार्यालयमा स्तनपान कक्षको व्यवस्थाले महिलालाई निकै नै सहज बनाएको सेवाग्राहीले बताएका छन् । कार्यालयमा सेवा लिन बच्चाको आमाका साथै गर्भवती महिला पनि आउने भएकाले उनीहरूलाई पनि आराम गर्नका लागि जुनसुकै कार्यालयमा पनि स्तनपान कक्षको व्यवस्था हुनुपर्ने उनीहरूको धारणा छ ।
स्तनपान संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाउने गरिएता पनि अझैसम्म यस विषयलाई कार्यालयले आवश्यकता महसुस गरेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्