जुम्लामा टेलिफोन र इन्टरनेट सेवा प्रभावित

जुम्लामा एक सातादेखि टेलिफोन र इन्टरनेट सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । कर्णालीमा निरन्तर रुपमा भइरहेको वर्षातका कारण कालिकोट रानी भर्तास्थित रिपिटर टावरमा समस्या भएपछि सेवा अवरुद्ध भएको हो । पटक पटक रानी भर्तामै बिग्रिने भएपनि सुधारमा सम्बन्धीत निकायले ध्यान नदिँदा स्थानीयले सास्ती पाएका छन् । कुरा गर्दागर्दै फोन काटिने, कुरा नबुझिने, इन्टरनेट सेवाको सुस्तताले उपभोक्तालाई पछिल्लो समय हैरान बनाएको छ । प्रस्ट आवाज नआउने, नेटवर्क आउने जाने समस्याले नागरिकहरु आक्रोसित भएका छन् ।
सदरमुकाम खलङ्गामा समेत टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी छैन । स्थानीय राम रावल भन्छन्, “गाउँको अवस्था के होला ? यसमा सरोकारवाला निकायनै गैरजिम्मेवार देखिन्छन् । सूचना र प्रविधिको समयमा फोन लाग्ने आवाज नसुनिने समस्याले हप्तादेखि नागरिकले दुःख पाइरहेका छन् ।” फोनको घण्टी जाने काटिने आवाजै नसुनिने, टावर आउने जाने र डाटानै नचल्ने प्रमुख समस्या हुन् ।
यता, नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले क्षमताभन्दा बढी सेवा बिस्तार भएकाले समस्या आएको बताए । प्रमुख श्रेष्ठले जनशक्ति अभावका कारण समयमै मर्मत गरेर सेवा प्रभावकारी बनाउन नसकेको बताएका छन् ।
इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । सञ्चारगृहमा समेत इन्टरनेट ढिलाइले एउटा समाचार पठाउन घण्टाँै लाग्ने गरेको पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले बताए ।
इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई–प्रणालीबाट गरिने आर्थिक कारोबारसमेत प्रभावित हुने गरेको छ । पछिल्लो समय बजारमा आएका निजी क्षेत्रका इन्टरनेट प्रदायकहरुको सेवासमेत प्रभावकारी नभएको गुनासो आएको छ ।