कोभिडको क्षति र पुनरुत्थानको खाँचो «

कोभिडको क्षति र पुनरुत्थानको खाँचो

राष्ट्र बैंकको प्रतिवेदनले इंगित गरेका विषयहरू निश्चय नै गम्भीर छन् र तिनको उपचारका लागि सानोतिनो प्रयासले मात्र सम्भव छैन ।

कोभिड–१९ प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनबाट मानवीय जनजीवनसँगै अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा प्रतिकुल प्रभाव पारेको छ । यसको प्रभावबारे सरकारले गम्भीर ढंगले अध्ययन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारको आर्थिक सल्लाहकारसमेत रहेको नेपाल राष्ट्र बैंकले प्रभाव आकलन गर्ने प्रयास गरेको देखिन्छ । उद्योग व्यवसायको पुँजी संरचना पहिचान गर्ने तथा लकडाउनपश्चात् उद्योग व्यवसायको सञ्चालन तथा वित्तीय योजना पहिचान गर्ने उद्देश्यले गरिएको यो अध्ययनको प्रतिवेदनले अवस्था भने निकै भयावह भइसकेको देखाएको छ । राष्ट्र बैंकले जेठ २६ गतेदेखि असार १० गतेसम्म प्रतिक्रिया संकलन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्र पुनरुत्थानका लागि सरकारले ल्याएको प्रारम्भिक प्याकेज, बजेट तथा मौद्रिक नीतिजस्ता विषय पर्याप्त नरहेको देखिन्छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि आर्थिक क्रियाकलापहरू प्रभावित हुन पुगेको अवस्था रह्यो । २०७६ चैत ११ देखि सुरु भएको लकडाउन २०७७ असार १ देखि खुकुलो गरिए पनि आर्थिक क्रियाकलापहरू पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । आर्थिक वर्ष २०७६-७७ मा करिब २.२८ प्रतिशतमात्र आर्थिक वृद्धि हासिल हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ । कोभिड—१९ प्रभावका कारण निश्चय पनि रोजगारीका अवसरहरू पनि प्रभावित भएका छन् । राष्ट्र बैंकले अध्ययनमा पूर्णतया प्राथमिक तथ्यांक तथा सूचनाको प्रयोग गरेको र सूचना संकलन गर्न प्रश्नावलीमा आधारित गुगल फर्ममार्फत अनलाइन सर्वेक्षण विधि अपनाइएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अध्ययनअनुसार ७४.३ प्रतिशत उद्योग व्यवसायहरूले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ । कर्जा नलिएका उद्योग व्यवसायहरूको संख्या १२ प्रतिशत रहेको छ । लकडाउन अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेका, ३५ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग व्यवसायहरू पूर्णरूपमा बन्द रहेका पाइएका छन् । लकडाउन अवधिमा सर्वेक्षणमा सहभागी उद्योग-व्यवसायहरूमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोबार घटेको जनाएका छन् । सहभागीमध्ये ०.९ प्रतिशत उद्योग व्यवसायहरूको उत्पादन कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन कारोबार
पूर्ववत रहेको देखिएको छ ।
कोभिड–१९ को संक्रमण र यसको असर कुन हदसम्म जान्छ अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यसर्थ, महामारीले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव प्रारम्भिक आकलनको तुलनामा अझ बढी हुनसक्ने देखिन्छ । यसैले नेपालको अर्थतन्त्र पनि विश्व अर्थतन्त्र जस्तै अनिश्चित बनेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा लकडाउनको कुनै योजना नरहेको स्पष्ट पारेकाले केही आशावादी हुने ठाउँ भने छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सुरक्षा र स्वास्थ्य मापदण्ड अनिवार्य गरेर यसको गति अगाडि बढाउनु आवश्यक छ । राष्ट्र बैंकको प्रतिवेदनले इंगित गरेका विषयहरू निश्चय नै गम्भीर छन् र तिनको उपचारका लागि सानोतिनो प्रयासले मात्र सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्