शनिबारदेखि साउन ३२ गतेसम्म रौतहटमा निषेधाज्ञा «

शनिबारदेखि साउन ३२ गतेसम्म रौतहटमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ शनिबार गतेदेखि ३२ गतेसम्मका लागि रौतहट जिल्लाभरि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला बारा, सर्लाही र पर्सामा कोरोनाको संक्रमण बढेपछि बुधबार बसेको सुरक्षा समितिको बैठकले रौतहटमा पनि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् । अत्यावश्यक कामबाहेक रौतहट जिल्लामा २४ गतेदेखि ३२ गतेसम्म पूर्णरूपमा निषेधाज्ञा गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
हाललाई साउन ३२ गतेसम्ममा निषेधाज्ञा गरिने निर्णय भए पनि त्यसपछि के गर्ने भन्नेबारे सुरक्षा समितिको बैठकले निर्णय गर्ने प्रजिअ घिमिरेले बताए । पछिल्लो समयमा रौतहटमा पनि समुदायमा संक्रमण देखिरहेको अवस्था छ । मानिसहरूको आवतजावत हुनाले संक्रमण हुने जोखिम बढेकाले यो निर्णय गरिएको हो । यता रौतहटको राजदेवी नगरपालिकामा भोली बिहिबार देखी सम्पुर्ण कार्यालयहरू बन्द हुने भएका छन । सो नगरपालिकाको वाड नं. ५ का वडा अध्यक्षलाई कोरोना संक्रमित पुष्टि भएपछि राजदेवी नगरपालिकामा समुदाय स्तरमा नै कोराना भाइरस फैलिएको भन्दै सो नगर क्षेत्रका सम्पूर्ण कार्यालयहरू बन्द गर्ने निर्णय गरेको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए । वडा अध्यक्ष व्यक्तिगत कामले काठमाडौ जानुपर्ने भएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमित वडा अध्यक्षका श्रीमतीको करेन्ट लागेर मृत्यु हुँदा मलामी गएका सांसददेखि सर्वसाधरण अनुमानित ३ सय भन्दा बढी नागरिकहरू सहभागी रहेको जनाइएको छ । सम्पर्कमा आएकाहरू मध्येको स्वास्थ्य परीक्षण गराउँदा ४ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो । अन्यको पनि स्वाब परीक्षण भइरहेको नगर प्रमुख सिंहले जानकारी दिएका छन । मंगलबार राजदेवीको ४ जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म रौतहटमा १ हजार ३ सय ३५ जनामा कोरोना संक्रमित भएका छन भने १३ जना मात्रै आइस्योलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्