कलाकारको व्यंग्यको तारो बने नेताहरु «

कलाकारको व्यंग्यको तारो बने नेताहरु

हास्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूप्रति कडा व्यंग्य गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रममा उनीहरुले नेताहरूले ३६५ दिन नै नक्कली गाईजात्रा देखाइरहेको भन्दै व्यंग्य गरेका हुन् । कलाकारहरूले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेतालाई गल्ती गर्न नदिन आग्रह गरे ।
व्यंग्ययकार शैलेन्द्र सिम्खडाले नेपालका नेता र जनताको प्रकार छुट्याउँदै कडा व्यंग्य गरे । उनले नेताहरू कोटे, नोटे, भोटे र चोटे चार प्रकारका र जनता अनुशासित र अनुबन्धित गरी दुई प्रकारका रहेको बताए। आफूले ४० वर्ष गाईजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको समेत उनले सुनाए । उनले सामाजिक, लैंगिक, राजनीतिक घटनालाई प्यारोडीमार्फत् व्यंग्य गरेका थिए ।
हास्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैंमा गाईजात्रा भएको टिप्पणी गरे । उनले भने, ‘केपी बा आफैंमा गाईजात्रा हुनुहुन्छ तर उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’ औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यंग्य गरेका थिए । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप उनले लगाए । कलाकारमा देशको भूभागबारे सामान्य ज्ञान हुन आवश्यक रहेको भन्दै केही कलाकारप्रति व्यंग्य पनि गरे।
कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितामार्फत् व्यंग्य गरे । उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यंग्य कविता प्रस्तुत गरेका थिए ।
हास्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताको क्यारिकेचर गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन वैद्य किरणको क्यारिकेचर गरेका थिए ।
हास्य कलाकार दिनेश काफ्लेले गाईजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडियाप्रति व्यंग्य गरे ।
हास्य कलाकार श्रीकृष्ण सिम्खडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए । उनले नेताहरूप्रति व्यंग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आ–आफ्नो ढंगबाट सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गीत र लामो कवितामार्फत सरकारलाई कडा व्यंग्य हानेका थिए । अर्का हास्य कलाकार सुमन कार्कीले पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेर नेताहरूलाई व्यंग्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्