पाकिस्तानको नयाँ नक्सामा कश्मीर,लद्दाख र जुनागढ पाकिस्तानतर्फ «

पाकिस्तानको नयाँ नक्सामा कश्मीर,लद्दाख र जुनागढ पाकिस्तानतर्फ

इश्लामावाद-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् । यो नयाँ नक्सामा गिलगिट बलुचिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका अतिरिक्त पहिलो पटक भारतीय केन्द्र शासित प्रदेश जम्मू कश्मीरलाई पनि आफ्नो क्षेत्रमा देखाइएको छ । मंगलबार पाकिस्तानको मन्त्री परिषदले यो नयाँ नक्सालाई स्वीकृति दिएको हो । पाकिस्तानले यो कदम अगस्ट ५ भन्दा पहिलेनै उठाइसकेको थियो । जम्मू–कश्मीरबाट भारत सरकारले धारा ३७० हटाएको १ वर्ष पुरा हुन लागेको समयमै पाकिस्तानले यो सोच बनाएको थियो ।
नक्सालाई स्वीकृति दिँदै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने,“आज म अत्यन्तै खुसी छु ।” नक्सा पारित गर्नु कश्मीरलाई पाकिस्तानमा गाभ्ने पहिलो कदम भएको पनि उनले बताए । यो नक्सा पाकिस्तानमा मान्य रहने र स्कु्ल तथा कलेजमा पनि यही नक्सा पढाइने भनाई उनको थियो ।
जानकारीका अनुसार पाकिस्तानले यो नयाँ नक्सामा जम्मू कश्मीरका अतिरिक्त जूनागढ, लद्दाख र सरक्रीकलाई पनि समावेश गरिएको छ । नयाँ नक्सा स्वीकृत भएपछि आफ्नो लक्ष्य श्रीनगर भएको पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेशीले बताए । हालै उनले पाकिस्तान अधिनस्थ कश्मीरस्थित कश्मीर राजमार्गलाई श्रीनगर राजमार्ग नामाकरण गरेका थिए ।
“कश्मीर विवादका समाधान केबल संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्तावबाट मात्रै हुनेछ,” इमरान खानले बताए ।

 

प्रतिक्रिया दिनुहोस्