चिनी आयातमा ५०% भन्सार छुट दिन उद्योगीको माग «

चिनी आयातमा ५०% भन्सार छुट दिन उद्योगीको माग

विगतमा नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको सुविधा चिनी आयात गर्ने उद्योगीहरूलाई पनि दिनुपर्ने संघका उपाध्यक्ष महेश जाजुको माग छ ।

४० वटा बिस्कुट र ७ वटा जुस उद्योग संकटमा

विराटनगर-खपतको आधारमा चिनी आयातको कोटा निर्धारण गर्न नेपाल बिस्कुट उत्पादक संघले सरकारसँग माग गरेको छ । संघले २० प्रतिशत भन्सार तिरेर चिनी आयात गर्न दिने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । आन्तरिक उत्पादन सकिएपछि यतिबेला बिस्कुट, चकलेट र जुस उद्योगहरूका लागि चिनीको अभाव भएको छ । जसका कारण उद्योगहरूले उत्पादन घटाउनु परेको उनीहरूको भनाइ छ ।
विगतमा नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको सुविधा चिनी आयात गर्ने उद्योगीहरूलाई पनि दिनुपर्ने संघका उपाध्यक्ष महेश जाजुको माग छ । सरकारले नेशनल ट्रडिङ र साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ । यही साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनी आयात गर्नका लागि ५० प्रतिशत भन्सार महसुलमा आयात गर्न दिने निर्णय गरेको थियो । हाल चिनीको आयातमा ४० प्रतिशत भन्सार लाग्दै आएको छ ।
साल्ट ट्रेडिङले प्रतिकेजी ७३ रूपैयाँमै चिनी बिक्री गरे पनि बजारमा भने उपभोक्ताले प्रतिकेजी ९० रूपैयाँसमा खरिद गर्दै आइरहेका छन् । चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव भएसँगै चिनीको मूल्य ह्वात्तै बढेको छ । जाजुले चिनी अभावकै कारण उद्योगको उत्पादन कटौती गर्नुपरेको सुनाए । “सरकारले साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिनु सकारात्मक हो,” जाजुले भने, “तर, साल्ट ट्रेडिङले आयात गरेको चिनी आइपुग्न कम्तिमा डेढ महिना लाग्छ । त्यतिबेलासम्म उद्योग के गर्ने ?” उनले साल्ट ट्रेडिङलाई दिएको सुविधा उद्योगीलाई पनि दिन आग्रह गरे । २० प्रतिशत भन्सार छुटको व्यवस्था हुने हो भने उद्योगी आफैंले चिनी आयात गरेर उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने उनको भनाइ छ । अहिले ५० प्रतिशत क्षमतामा पनि उद्योग सञ्चालन नभएको जाजुले सुनाए ।
नेपालका चिनी उद्योगीहरूको माग सम्बोधन गर्दै सरकारले चिनीको आयातमा ४० प्रतिशत भन्सार लगाउने निर्णय गरेको थियो । तर, अहिले चिनी उद्योगहरूसँग चिनीको स्टक छैन । आन्तरिक उत्पादन सकिएकैले चिनीको अभाव भएको हो । “जतिबेला नेपालमा पर्याप्त चिनी थियो त्यतिबेला चिनीको आयातलाई प्रतिस्थापन गर्न ४० प्रतिशत भन्सार लगाउनु स्वभाविकै थियो,” एसियन थाइफुड्सका प्रबन्ध निर्देशकसमेत रहेका संघका उपाध्यक्ष जाजु भन्छन्, “तर, अहिले उद्योगीहरूले नै हामीसँग चिनी छैन भनिरहेको बेला ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो ।”
बिस्कुट, चकलेट र जुसमा नेपाल आत्मनिर्भर भइसकेको उनी दाबी गर्छन् । आत्मनिर्भर भइसकेको उद्योगलाई संरक्षण र सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको उद्योगी नवलकिशोर काबरा बताउँछन् । “हुन त कच्चा पदार्थको आयातमा ५ देखि १० प्रतिशत मात्रै भन्सार लाग्नुपर्ने हो,” काबराले भने, “तर हामी २० प्रतिशत तिरेर चिनी आयात गर्न तयार छौं ।” लकडाउनका कारण भारतबाट बिस्कुट, चकलेट र जुस आयात आयात नहुँदा पनि आन्तरिक उत्पादनले मागलाई धानिरहेको उनको दाबी छ ।
भारतमा चिनीको मूल्य प्रतिकेजी ४५ रूपैयाँ छ । “४५ रूपैयाँ प्रतिकेजीको चिनीबाट उत्पादित भारतीय उत्पादनसँग ९० रूपैयाँ प्रतिकेजीको चिनीबाट उत्पादित हाम्रा उत्पादनले कसरी प्रतिस्पर्धा गर्न सक्छ,” उद्योगी जाजुको प्रश्न थियो, “यसले स्वदेशी उद्योगहरू बन्द हुन्छन् । अहिले कोरोनाका कारण बेरोजगारी समस्या बढ्दै गएको अवस्थामा रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहित गर्ने दायित्व राज्यको हो ।” उनका अनुसार नेपालमा चकलेट–बिस्कुटका ४० र ७ वटा ठूला जुस उद्योग छन् । जहाँ ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसबाहेक टोल–टोलमा सञ्चालित पाउरोटी उद्योगहरूले पनि चिनीको खपत गर्दछन् । बिस्कुट र जुस उद्योगले रोजगारी सिर्जनासँगै सरकारलाई राजस्व र आयातको प्रतिस्थापन गरेको उनले बताए ।
कच्चा पदार्थका रूपमा प्रयोग गरिने चिनी भारतकै मूल्यमा उपलब्ध गराउने हो भने बिस्कुट, चकलेट र जुस निर्यात गर्न नेपाली उद्योग सक्षम रहेको संघका महासचिव विक्रम कर्माचार्यको दाबी छ । “सस्तोमा चिनी पाउने हो भने हामी बिस्कुट, चकलेट र जुस निर्यात गर्न सक्छौं,” कर्माचार्यले भने, “तर उत्पादन लागत उच्च नेपाली उद्योगको प्रतिस्पर्धा गर्ने क्षमता कमजोर छ ।”
तीज, दसैं, तिहार, छठ जस्ता प्रमुख चाड नजिक आइरहेकाले उद्योगबाहेक उपभोक्ताले समेत चिनी बढी खरिद गर्ने गरेका छन् । “यो सबै समस्याको समाधानको एउटै अचुक उपाय भनेको सरकारले ५० प्रतिशत भन्सार छुटमा उद्योगीलाई चिनीको आयात गर्न दिनुपर्छ,” संघका सदस्य ओम महर्जनले भने । चिनीको भन्सार नघटाए सीमा खुल्ने बित्तिकै क्यारिङ सुरु हुने उनको दाबी छ । भारतमा भन्दा नेपालमा दोब्बर मूल्य बढी भएपछि तस्करीमार्फत चिनीको अवैध आयात बढ्छ । यसले सरकारको राजस्वसमेत गुम्ने उनको दाबी छ । चिनी अभावका कारण नेपालका बिस्कुट, जुसलगायतका उद्योग संकटमा परेको उनले बताए । हाल नेपाली बजारमा भारतीय बजारमा भन्दा दोब्बर मूल्यमा चिनी बिक्री वितरण भइरहेको छ । भारतीय बजारमा प्रतिकिलो ४५ रूपैयाँदेखि ४८ रूपैयाँ चिनीको मूल्य छ । भारतमा उद्योगबाट खरिद गर्दाको मूल्य साढे ४२ रूपैयाँ मात्रै पर्छ । तर, नेपाली बजारमा ८५ रूपैयाँदेखि ९० रूपैयाँसम्म मूल्य पुगिसकेको छ । महँगोमा चिनी किनेर बिस्कुट उत्पादन गर्न कठिन भएको संघका महासचिव कर्मचार्यले बताए । कर्मचार्यकाअनुसार साल्ट ट्रेडिङ र खाद्य संस्थानमार्फत सरकारले सहुलियत दरमा चिनी आयात गर्ने व्यवस्था गरेको भएपनि ती संस्थाहरूले चिनी ल्याउन कम्तीमा दुई महिना लगाउने छन् । सहुलियतको चिनी उपभोक्तालाई वितरण गरिने भएकाले ठूला उद्योगहरूले पर्याप्त मात्रामा चिनी पाउने स्थिति नभएको उनले बताए ।
खपतका आधारमा ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न पाउनुपर्ने मागसहितको ज्ञापनपत्र उद्योग मन्त्रालयलाई बुझाइसकेको संघका उपाध्यक्ष जाजुले जानकारी दिए । “मन्त्रालयले हाम्रा मागलाई सकारात्मक रूपमा लिए पनि अहिलेसम्म निर्णय गरेको छैन,” जाजुले भने, “हाम्रा मागलाई गम्भीरताका साथ लिएर सरकारले चाँडै निर्णय गरोस् र उद्योगहरू बन्द हुनबाट जोगाओस् ।”

 

प्रतिक्रिया दिनुहोस्