सिन्धुलीमा निर्णयविपरीत विद्यालय सञ्चालन «

सिन्धुलीमा निर्णयविपरीत विद्यालय सञ्चालन

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका केही विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । तत्काल विद्यालय नखोल्ने सरकारको निर्णय विपरीत विद्यालयमा पठनपाठन सञ्चालन गरिएको हो ।
गोलञ्जोर–२ नम्बर वडाका सबै सरकारी तथा गैरसरकारी विद्यालयहरुमा अहिले पठनपाठन भइरहेको छ । स्थानीय तहले पनि विद्यालय सञ्चालन नगर्नु भन्ने सूचना जारी गरेको भए पनि विद्यार्थीको भविश्यका लागि पठनपाठन सुरु गरिएको वडाले जनाएको छ ।
विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको समेत सहमतिमा पठनपाठन नियमित गरिएको वडा अध्यक्ष दौलत कार्कीले जानकारी दिए । “यो मेरो एकल निर्णय होइन, सबैको सहमतीमा पठनपाठन सुरु गरेका हौँ,” उनले भने, “अहिले नै पढाइ सुरु गर्नु संघीय तथा स्थानीय सरकारको निर्देशन विपरीत हो, तर पनि कारोनाको महामारी कहिलेसम्म रहने हो निश्चित पनि छैन त्यसैले पढाइ सुरु ग¥यौँ ।”
अभिभावकहरुले लामो समयदेखि बालबालिकाहरु शैक्षिक क्रियाकलापबाट टाढा भएको भन्दै तत्काल विद्यालय सञ्चालन गर्न दबाद दिएको उनको भनाइ रहेको छ । “संघीय सरकार र स्थानीय सरकारको निर्देशनभन्दा समुदायको निर्णय ठूलो हो,” कार्कीले भने, “विद्यालय सञ्चालन गर्न अभिभावककै सहमती छ भने किन नगर्ने ? सुरु भइसकेको पढाइ अब बन्द गर्ने कुरै हुँदैन बरु थप सर्तकता अप्नाउन हामी तयार छौँ । वडा कार्यालय र स्थानीय अभिभावक कोरोनाबाट आइपर्ने जोखिमसँग जुध्न तयार छ ।”
पढाईका लागि गाउँमा बाहिरका विद्यार्थी तथा शिक्षक नआउने भएकाले पनि बाहिर हाल्ला भएजस्तो जोखिम नरहेको कार्कीले बताए । उनले भने, “पढाइ सञ्चालन गर्दैैमा कोरोना संक्रमण हुने होइन, आवश्यक सुरक्षा अप्नाउनु चाँही आवश्यक हो ।”
२ नम्बर वडाका विद्यालयहरुमा पठनपाठन भइरहेको जानकारी पाएपछि गाउँपालिकाले वडा कार्यालयलाई पठनपाठन सञ्चालन नगर्न आधिकारीक पत्र समेत पठाएको थियो । तर पालिकाले पठाएको उक्त पत्रलाई बेवास्ता गर्दै वडाले स्थानीय अभिभावक र विद्यालय व्यवस्थापन समितिको समेत आग्रहमा विद्यालय सञ्चालन गरेको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले भने संघीय सरकारको निर्देशन तथा अनुरोधलाई स्थानीय सरकारले मान्नुपर्ने बताए । गाउँपालिको पनि आधिकारी सूचना जारी गर्दै विद्यालय सञ्चालन नगर्न आग्रह गरेको भएपनि वडाले व्यवास्ता गरेको उनले बताए । “तुरुन्तै पठनपाठन बन्द गर्न हामीले आग्रह गरेका थियौँ,” उनले भने, “तर वडाले अटेर गरिरहेको छ, यसबाट सिंगो वडालाई पर्ने असरबारे वडा कार्यालय नै जवाफदेहि हुनुपर्छ ।”
६ वटा वडा रहेको यहाँका अन्य विद्यालयमा भने बैकल्पिक माध्यामबाट दोस्रो चरणको पठनपाठन भइरहेको शिक्षा शाखाले जनाएको छ । यसैविच, जिल्लाका अन्य स्थानीय तहमा पनि वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको छ । लामो समयदेखि बन्द रहेको विद्यालय शिक्षा भौतिक दूरी कायम गरेर चरणवद्ध रुपमा सञ्चालन भइरहेको जनाइएको छ । पहिलो चरणमा टोल–टोलमै पुगेर होमवर्क कार्यक्रम गरेका विद्यालयहरुले दोस्रो चरणका क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्