स्वास्थ्य सामग्री खरिद प्रक्रिया छानविन गर्न अख्तियारमा उजुरी

कोभिड–१९ का लागि खरिद् गरिएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै ‘इनअफ इज इनअफ’ अभियानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गर्दै उजुरी दर्ता गराएको छ ।
इनअफ इज इनअफ अभियानका पुकार बमको नेतृत्वमा अभियानताहरु बुधबार उजुरी दर्ता गराएका हुन् । कोभिड–१९ का लागि ओम्नी समूहसँग हतार हतार गुणस्तरहिन स्वास्थ्य सामग्री खरिद् गरेर भ्रष्टाचार भएको अभियानको आरोप छ । अभियानता बमले उजुरी दर्ता गराउँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको मिलेमतोमा भ्रष्टाचार भएको आरोप लगाउँदै उनीहरुको कल डिटेल तथा अन्य माध्यकबाट भएका सम्पर्कहरुको समेत सहयोगमा छानविन गर्न माग गरे ।
उनले स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठमाथि समेत छानबिन गर्न माग गरे । ओम्रिका सञ्चालक दुर्गाप्रसाद बेल्वासे, भानुभक्त भट्टराई र ओम्नीकै प्रमुख कार्यकारी अधिकृत तुलहरिसिंह भुसालले राजनीतिक व्यक्तिहरुसँग मिलेमतो गरी भ्रष्टाचार गरेको उनको आरोप छ ।
अभियानता बमले स्वास्थ्य सेवा विभागले खरिद् गरेको कोरोना परीक्षण किटमा दुईपटक ठेक्का रद्द गर्दै १० औं नम्बारमा रहेको ओम सर्जिकल कन्सर्न प्रालिलाई २४ करोड ८१ लाखमा ठेक्का गरेर ठूलो कमिसनको चेलखेल गरेको समेत आरोप लगाए । उनले उक्त ठेक्कामा स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहलगायतलाई छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएको बताए ।