टिच फर नेपालले ७ जिल्लामा रेडियो कार्यक्रम चलाउने

शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था टिच फर नेपालले देशका सात जिल्लाका रेडियोबाट कक्षा सञ्चालन गर्ने भएको छ ।
कोरोनाका कारण बालबालिकाहरूको पढाइमा गम्भीर असर गरेको भन्दै उक्त संस्थाले शैक्षिक क्षति हुन नदिन रेडियो कक्षा सञ्चालन गर्न लागेको संस्थाकी प्रतिनिधि रुमा महर्जनले बताइन् । उनका अनुसार संस्थामार्फत ७ जिल्लामा पुगेका शिक्षकहरूले अध्यापन गराउँदै आएका आधारभूत तहका विद्यार्थीहरूलाई लक्षित गरेर साउन ५ देखि सातवटा रेडियो स्टेसनबाट साँझमा कक्षा सञ्चालन गर्नेछन् ।
महर्जनका अनुसार सोमबार अग्रेजी, मंगलवार गणित, बुधवार विज्ञान, बिहीबार अग्रेजी र शुक्रवार विद्यार्थीहरूको मनोबल उच्च बनाउने खालका सामग्रीहरू प्रसारण गर्ने तयारी गरिएको छ । कुल ४० वटा श्रृङ्खलामा प्रसारण हुने कार्यक्रमलाई नाटकीय शैलीमा रेकर्ड गरेर विषयबस्तुलाई सजिलो पार्ने प्रयास गरिएको छ ।
‘हामीले स्ट्रक्चरलभन्दा पनि फङ्सनल खालका विषयवस्तु समावेश गरेका छौँ । अङ्ग्रेजीमा ग्रामरका रुल घोकाउनुभन्दा साथी भेट्दा कसरी बोल्ने ? ग्रिटिङ कसरी गर्ने आदि बारेमा जोड दिएका छौँ,’ टिच फर नेपालमा अंग्रेजी विषय हेर्दै आएका एलिस गुरुङले भने, ‘हरेक शुक्रबार विषयगत पढाइभन्दा पनि कथा एक्सप्रेसबाट लकडाउन डायरी प्रसारण गरी यो अवस्थामा बालबालिकाको मनोविज्ञानलाई बलियो पार्ने प्रयास गर्न लागेका छौँ ।’
विद्यालय नखुलेपछि बालबालिकाहरूलाई शिक्षामा प्रत्यक्ष असर परेको भनी सर्वेक्षणबाट पाइएपछि रेडियो कार्यक्रम तयार गरिएको टिच फर नेपालले बताएको छ । ग्रामीण क्षेत्रमा रहेका बालबालिकाहरूका अभिभावकसँग सामान्य खालको फोन भए पनि स्मार्ट फोन नहुनु, टेलिभिजन र इन्टरनेटको पहुँचमा कम विद्यार्थी रहेको पाइएकाले रेडियोबाट कार्यक्रम प्रसारण गर्न लागेको संस्थाले जनाएको छ ।
संस्था मातहत खटिएका शिक्षकहरूले सात जिल्लाका १५ सय विद्यार्थीलाई नमुनाका रूपमा सर्वेक्षण गर्दा नेटको पहुँच ३३ प्रतिशत, डिसहोमको पहुँचमा ३५ प्रतिशत र रेडियोको पहुँचमा ५८ प्रतिशत विद्यार्थी रहेको पाइएको थियो ।
‘टिच फर नेपालले’ सात जिल्ला ललितपुर, तनहुँ, दाङ, पर्सा, लमजुङ, सिन्धुपाल्चोक र धनुषाका ६४ विद्यालयमा ‘टिच फर नेपाल’ का १३७ जना शिक्षक अध्यापनका लागि खटिएका छन् ।
ती विद्यालयहरूमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई नै लक्षित गरेर रेडियो कक्षा प्रसारण गर्न लागिएको हो । तोकिएका सात जिल्लाबाहेकका जिल्लाका रेडियोले पनि कार्यक्रम प्रसारण गर्न चाहेमा संस्थासँग सहकार्य गर्न सक्ने बताइएको छ । ब्रिटिस काउन्सिल, माई इमोसन्स, कथा एक्सप्रेस, रेडियो अडियो, द रेकर्ड हाउस र मिटिङ संस्थाले कार्यक्रम उत्पादन, सामग्री निर्माण र अन्य सहयोग गरेका छन् ।