Logo

अप्रेसनपछि सुत्केरी राख्न छुट्टै भवन

सिन्धुली अस्पतालमा सुत्केरी हुने महिलालाई राख्नका लागि नयाँ भवन निर्माण गरिएको छ । ९ वटा वेड अटाउने गरी उक्त भवन निर्माण गरिएको हो । जसमा हाल ७ वटा बेड राखिसकिएको छ ।
अस्पतालमा बेड अभाव भएपछि नयाँ भवन निर्माण गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार समस्यालाई मध्येनजर गर्दै २० दिनमा भवन निर्माण गरिएको हो । अब अस्पतालको प्रसूति कक्षमा अपे्रसन गरिएका सुत्केरी महिलालाई सो भवनमा राखिने छ ।
स्वास्थ्य मन्त्रालयको १३ लाख, उर्मिला थापाबाट प्राप्त रकम २ लाख, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघबाट प्राप्त १ लाख र विजय कुँवरबाट प्राप्त २० हजार रकमबाट भवन निर्माण गरिएको सिन्धुली अस्पतालले जनाएको छ । उक्त रकमलाई जम्मा गरी टेण्डरबाट १६ लाख ११ हजारमा ७ वेडको पोस्ट अपरेटिभ वार्ड (प्रसूति वार्ड) २० दिनमा टेण्डर प्रक्रियाबाट निर्माण गरिएको हो ।
भवन सम्पन्न गर्दा १६ लाख ३८ हजार रुपैंयाँ भ्याटसहित लागत लागेको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रह्लादकुमार पोखरेलले बताए । यस वार्डमा कमलामाई नगरपालिकाले १० लाख बराबरको आवश्यक सामग्री उपलब्ध गराएको छ भने नवनिर्मित भवनबाट सुत्केरी महिलाले भोलीदेखि मात्रै सेवा पाउने बताए । सुत्केरी महिलालाई राख्ने ठाउँ अभावका कारण जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता आएपछि भवन निर्माण गरिएको पोखरेलले बताए ।
उक्त भवनका लागि आवश्यक वेड तथा अन्य सामग्री, उपकरण गरी १० लाख बराबरको सामान कमलामाई नगरपालिकाले सहयोग गरेको छ । भवनको औपचारिक रूपमा बिहीबार उद्घाटन गरिएको छ । यता अस्पतालमा निर्माण गरिएको आईसीयू सेवा भने जनशक्ति र बजेटको कमीले सञ्चालन गर्न नसकिएको बताइएको छ । सिन्धुली अस्पताललाई कोरोना अस्पतालका रूपमा विकास गर्ने प्रदेश सरकारको घोषणासँगै केन्द्रीय सरकारले अस्पतालमा आईसीयू बनाउन आएको रकमले अस्पतालले आईसीयू सञ्चालनको तयारी गरेको भए पनि आवश्यक जनशक्ति र आईसीयू सञ्चालनका लागि लाग्ने अक्सिजन प्लान्ट निर्माण गर्न बजेटको कमी भएपछि आईसीयू सञ्चालनमा आउन सकेको छैन ।
अस्पतालमा ३ बेडको आईसीयू निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट १ करोड बजेट आएको थियो । उक्त बजेटबाट आईसीयूमा आवश्यक बेड, ईसीजी मेसिन, एक्सरे मेसिन, बिरामी हेरचाह गर्ने मनिटर लगायतका सामग्री खरिद भइसकेका छन् भने अक्सिजन प्लान्टका लागि वाइरिङ लगायतका काम भएका छन् ।
अब अस्पतालमा आईसीयूका लागि दक्ष जनशक्ति र अक्सिजन प्लान निर्माणका लागि रकम नहँुदा समस्या भएको अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट बनाउनका लागि सानोमा ५५ लाखदेखि ठूलोमा एक करोडसम्म लगानी लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्