उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी सुरु

दुवै प्यानलले खोले सम्पर्क कार्यालय
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आउँदो निर्वाचनका लागि चुनावी सरगर्मी सुरु भएको छ । चैत अन्तिम साता हुनुपर्ने साधारणसभा र निर्वाचन लकडाउनका कारण रोकिएपछि असार ८ गते बसेको कार्यकारिणी समितिको भर्चुअल बैठकले साउन २६ र २७* मा निर्वाचन गर्ने नयाँ मिति तोकेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेकाले महासंघको निर्वाचन पुनः सर्ने सम्भावना रहे पनि नेतृत्वका आकांक्षीहरूले चुनावी तयारी तीव्र पारेका छन् ।महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधानबमोजिम स्वतः अध्यक्ष हुने भएकोलेवरिष्ठ उपाध्यक्षको लागि प्रतिस्पर्धा हुने देखिएको छ । तीन वर्षपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले यो पदका लागि हुने निर्वाचनलाई महत्वका साथ हेरिएको छ । वरिष्ठउपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धाको तयारीमा छन् । ढकाल र प्रधान दुवै प्यानलमा तीन उपाध्यक्षका उम्मेदवारको टुंगो लागिसके पनि सदस्यहरूको छनोट जारी छ । उम्मेदवारहरूले प्रत्यक्ष भेटघाट र भर्चुअल बैठकलाई तिब्रता दिइरहेका छन् । महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले गत साता नै पानीपोखरीमा सम्पर्क कार्यालय खोलेका हुन् भने मंगलबार अर्का उम्मेदवार किशोर प्रधानले पनि ललितपुरको याक प्यालेसमा प्रचारप्रसार कार्यालय स्थापना गरे । कार्यालयको वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारकालगायतले उद्घाटन गरेका हुन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल हाल एशोसियटर्फका उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति हुन् भने प्रधान जिल्लानगर समूहतर्फ भएको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् । ढकाल यसअघि भएको निर्वाचनमा निर्विरोध चयन भएका थिए भनेप्रधान हालका वरिष्ठ उपाध्यक्ष शेखरसँग पराजीत भए पनि हाल गोल्छाकै समर्थनमा उम्मेदवार बननेका छन् ।तीन वर्षअघि प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा निर्वाचन जितेका प्रमोद प्रधान मेयरको चुनाव लड्न गएपछि विधानअनुसार महासंघमा जिल्ला नगरको उपाध्यक्ष पद खाली भयो ।
सोही पदमा उनले कार्यकारिणी सदस्य निरक केसीलाई हराउँदै महासंघ फर्केका हुन् ।ढकालले गत पुसमै आफ्नो गृहजिल्ला बागलुङबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा थिए । पछिल्लो समय व्यवसायमा आक्रामक ढंगले अगाडि बढाएको आइएमई समुहका अध्यक्ष हुन् भने चद्रागिरी हिल्स, डिसहोम लगायतका कम्पनीमा उनको लगानी छ । ढकाल प्यालनमा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसियटतर्फ रामचन्द्र सांघाई उम्मेदवार छन् । सदस्यहरूको विषय भने टुंगोमा पुगिनसकेको र छिट्टै टुंगोमा पुग्ने ढकालले बताए ।वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधान पक्षबाट वस्तुगत उपाध्यक्षतर्फ अन्जन श्रेष्ठ, जिल्ला नगरतर्फबाट दिनेश श्रेष्ठ र एशोसियटबाट सौरभ ज्योति उम्मेदवारहुँदैछन् । वस्तुगत उम्मेदवार श्रेष्ठ महासंघको उद्योग समिति सभापति हुन् भने ज्योति बैंक तथा बिमा समिति सभापति छन् ।
यसअघि वस्तुगत उपाध्यक्षसमेत रहिसकेका जिल्लानगर उपाध्यक्ष श्रेष्ठउद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष हुन् । प्रधान प्यानलबाट पनि सदस्यहरूको विषयमा टुंगो लागिसेकेको छैन ।महासंघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्षसहित सात सदस्य प्रत्येक प्रदेशबाट, जिल्ला नगर समूहबाट १७, वस्तुगतबाट १४ र एशोसियटबाट १९ सदस्य कार्यकारिणी समितिमा रहने व्यवस्था छ । यस्तै समितिमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ र संस्थापक सदस्य चेम्बरबाट एक-एक जना तथा मनोनित ५ जना रहने व्यवस्था रहेको छ ।
पूर्वअध्यक्षहरू सहमतिको प्रयासमा
महासंघमा निर्वाचनको तयारी भइरहँदा केही पूर्वअध्यक्षहरू भने सहमतिको प्रयासमा जुटेका छन् । अहिलेको अवस्थामा हुने निर्वाचनले निजी क्षेत्रमा फाटो ल्याउने तथा यसले निजी क्षेत्रलाई कमजोर बनाउने भन्दै सहमतिका लागि प्रयास भइरहेको पूर्वअध्यक्ष कुशकुमार जोशीले जानकारी दिए । उनका अनुसार अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने र सहमति हुन नसके पनि निर्वाचनपछि गुट उपगुट नहुने वातावरण निर्माणका लागि पूर्वअध्यक्षहरू सक्रिय छन् । जोशीले विगतदेखि नै चुनावले महासंघ कमजोर बनेको अनुभवका आधारमा सहमति अनिवार्य रहेको बताएका छन् ।
(*सच्याइएको )