एनसीसी बैंकको वित्तीय अवस्था सामान्य «

एनसीसी बैंकको वित्तीय अवस्था सामान्य

एनसीसी बैंकले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कारण सिर्जित समस्याले बैकको वित्तीय परिसूचकमा कुनै फरक नपर्ने जनाएको छ । एनसीसी बैकसँग मर्ज हुनुअघि नै तत्कालीन एपेक्स डेभलपेन्ट बैंकबाट प्रवाह भएका कर्जाको कारण हाल एनसीसी बैंकको वित्तीय अवस्थामा कुनै खराब प्रभाव नपर्ने बैंककी डीजीएम बन्दना पाठकले बताइन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थापन भइसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै असर नपर्ने देखिएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा ७ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालू आवको पुस मसान्तसम्ममा २८ करोडले वृद्धि गरेर खुद नाफा ३५ करोड रुपैयाँ पुर्या एको छ ।
नेपाल राष्ट्र बैंकको सक्रियतामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत शुक्रबार बिहान हाल एनसीसीका सञ्चालक रहेका तत्कालीन एपेक्स डेभलपेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी र मधुवनलाल श्रेष्ठ तथा तत्कालीन एपेक्स बैंकका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्टलगायत १३ जनालाई पक्राउ परेका छन् । तत्कालीन एपेक्सको नेतृत्वले कमसल धितो राखेर डेढ अर्ब कर्जा हिनामिना गरेको भए पनि एपेक्सलाई एनसीसीमा मर्ज गरिएपछि सो दायित्वसमेत एनसीसी बैंकमा सरेको थियो । तर, खराब कर्जाका लागि एनसीसीले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार डेढ अर्ब रूपैंयाँ प्रोभिजन गरिसकेको छ । डेढ अर्ब प्रोभिजनपछि पनि हाल एनसीसी बैकको नाफा बढेको छ ।
एपेक्सको झण्डै १ अर्ब ५२ करोड रुपैयाँ कर्जा उठ्न नसक्ने देखिएपछि नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्था (प्रोभिजन) गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा ऋण दुरूपयोगको फाइल पुगेपछि राष्ट्र बैंकले नै १२ दिनअघि सीआईबीसमक्ष कारवाहीको सिफारिस गरेको थियो । कमसल धितोमा ऋण दिइएको २ अर्ब रुपैयाँमध्ये ४८ करोड रुपैयाँ फिर्ता भइसकेको छ ।
एनसीसीले एपेक्ससहित ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको थियो । एपेक्स गाभ्न राष्ट्र बैंकले नै अनुमति दिए पनि वैशाख २८ मा उच्च अदालत पाटनले एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न एनसीसीलाई अन्तरिम आदेश जारी गरेको थियो ।
कुनै समय अत्यन्त खराब स्थितीबाट गुज्रिएको एनसीसीमा सुधारको प्रक्रिया चलिरहेको छ । विगतमा मुख्य लगानीकर्ता रहेको विवादास्पद एनबी समूहसँग सम्बन्धित ऋणहरू धेरैजसो उठिसकेको छ । अब पुरानोमध्येको हरिसिद्दिको जग्गा बिक्रीको विषय मात्र टुंगो लाग्न बाँकी छ । अदालतमा मुद्दा परेको हुँदा जग्गा लिलामीको प्रक्रिया भने अघि बढेको छैन ।
२०७२ मंसिर २१ मा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपश्चात यसको फाइदा उठाउँदै तत्कालीन व्यवस्थापनले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ हानीनोक्सानी पुर्या एको भन्दै १३ जनालाई शुक्रबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका सवै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित रहेको पनि सीबीआईले बताएको छ ।
सीआईबीका अनुसार खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी सिर्जना गरेर एपेक्सका तत्कालीन अध्यक्ष धितालले व्यवस्थापनसँग मिलेर कर्जाको दुरूपयोग गरेकोले एपेक्स डेभलपमेन्ट बैंकको २ अर्ब रुपैयाँ कर्जा दुरूपयोग गरेको अभियोगमा अनुसन्धान थालेको थियो । पक्राउ परेकाहरूलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको सीआईबीले जनाएको छ ।
मर्जरमा हस्ताक्षर गरेपछि एक करोडमाथिको ऋण दिनुपरे मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमतिविपरित ऋण लगानी भएको पाइएको भन्दै सीआईबीले एपेक्सले एक करोडभन्दा सानो फाइल बनाउँदै दुई अर्ब ऋण लगानी गरेको अनुसन्धानमा देखिएको जनाइएको छ ।
कर्जा हिनामिनामा संलग्नताको अभियोगमा पक्राउ परेका विरुद्ध अदालतमा मुद्दा चल्नेछ । अदालतले दोषी करार गरेको खण्डमा हिनामिना गरिएको कर्जा कसुरदारहरूबाट असुल हुनेछ । कसुरदारसँग डेढ अर्ब असुलिएसँगै बैंकले प्रोभिजन गरेको रकम पनि बैंकको आम्दानीमै गणना हुनेछ । यसरी प्रोभिजनका बाबजुद नाफा बढाएको बैंकको कोषमा डेढ अर्बसमेत थपिँदा आम्दानी बढ्ने बैकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्